नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । सोमबार गुवाहाटीमा चेन्नई सुपर किंग्सविरुद्ध खेल्दा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले विस्फोटक प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन्। उनको आक्रामक ब्याटिङ देखेर कप्तान रियान पराग समेत अचम्मित बनेका थिए।
ईएसपिएन क्रिकइन्फो स्टुडियोमा रहेका पूर्व खेलाडी पियुष चावला र अम्बाती रायुडुले पनि सूर्यवंशीको खुलेर प्रशंसा गरेका छन्। चावलाले उनलाई चाँडै उच्च स्तरमा देख्न चाहेको बताए भने रायुडुले उनी राष्ट्रिय टोलीको सम्भावित खेलाडी भएको प्रतिक्रिया दिएका छन्।
सूर्यवंशीले मात्र १७ बलमा ५२ रन बनाउँदै राजस्थान रोयल्सलाई ८ विकेटको सहज जित दिलाए। खेलपछि रायुडुले भने, “उनी अहिलेका धेरै युवा खेलाडीभन्दा उत्कृष्ट देखिन्छन् र भविष्यमा भारतीय क्रिकेटका लागि ठूलो योगदान दिन सक्छन्।”
उनले थपे, “उनको स्वतन्त्र खेल शैली र सट चयनले देखाउँछ कि टिम व्यवस्थापनले उनलाई बिना दबाब खेल्न दिइरहेको छ। यति कम उमेरमा यस्तो आत्मविश्वास देखाउनु असाधारण हो।”
भर्खरै १५ वर्ष पुगेका सूर्यवंशी अन्डर–१९ विश्वकपमा भारतलाई उपाधि दिलाउँदा ७ इनिङ्समा ४३९ रन बनाएर ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका थिए। उनी सबैभन्दा कान्छा आईपीएल खेलाडी, टी–२० मा सबैभन्दा कान्छा शतककर्ता र लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १५० रन बनाउने खेलाडीका रूपमा समेत चिनिन्छन्।
खेलपछि कप्तान परागले भने, “हामी उनलाई कुनै दबाब दिन चाहँदैनौँ। बाहिरी हल्लाबाट टाढा राखेर स्वतन्त्र रूपमा खेल्न दिइरहेका छौँ, जसले उनलाई अझ राम्रो बनाउन मद्दत गरेको छ।”
राष्ट्रिय टोलीमा स्थान पाउने सम्भावनाबारे रायुडुले भने, “टी–२० ढाँचा उनका लागि उपयुक्त हुन सक्छ, तर अहिले टोली निकै प्रतिस्पर्धात्मक भएकाले स्थान बनाउन सजिलो छैन।”
उता चेन्नईका ब्याटिङ प्रशिक्षक माइक हसीले भने, “हामीले उनलाई सुरुमै जीवनदान दिएका थियौँ। त्यो क्याच समातेको भए खेल फरक हुन सक्थ्यो। तर आजको दिन उनी निकै प्रभावशाली देखिए।”
