नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । आईपीएल २०२६ मा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्स ले निराशाजनक सुरुआत गरेको छ।
सोमबार भएको खेलमा चेन्नाई राजस्थान रोयल्ससँग आठ विकेटले पराजित भयो। भारतको गुवाहाटीस्थित वार्सपारा क्रिकेट रंगशालामा चेन्नाईले दिएको १२८ रनको सामान्य लक्ष्य राजस्थानले १२.१ ओभरमा दुई विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो।
राजस्थानको जितमा ओपनर वैभव सूर्यवंशी ले ५२ रनको अर्धशतकीय इनिङ खेले। उनले ५२ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले यशस्वी जैसवाल सँग ७५ रनको साझेदारी गरेका थिए। जैसवालले ३८ रन बनाए। त्यस्तै ध्रुव जुरेल ले १८ तथा कप्तान रियान पराग ले १४ रन जोडे।
चेन्नाईका लागि दुवै विकेट अन्सुल कम्बोज ले लिएका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नाईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्र बनायो। छैटौँ नम्बरमा आएका जेमी ओभर्टन ले सर्वाधिक ४३ रन बनाए। उनले ३६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। कार्तिक शर्मा ले १८ तथा सरफराज खान ले १७ रन जोडे।
शीर्षक्रम भने पूर्ण रूपमा असफल रह्यो। सञ्जु सैमसन, शिवम दुबे र कप्तान ऋतुराज गायकवाड ले समान ६ रन मात्र बनाए। आयुष मेहत्रा डक आउट भए भने म्याथ्यु शर्ट ले २ रन बनाए।
राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजा ले समान दुई विकेट लिए। व्रजेश शर्मा र रवि बिश्नोई ले एक–एक विकेट लिए।
यस जितसँगै राजस्थानले प्रतियोगितामा विजयी सुरुआत गर्दै दुई अंक जोडेको छ। चेन्नाई भने पहिलो खेलमै हार बेहोर्दै दबाबमा परेको छ।
