धर्मशाला । आईपीएल २०२६ को क्वालिफायर–१ अन्तर्गत बेंगलुरु र गुजरातबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट सङ्घ मैदानमा हुने खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ।
तर, मौसम पूर्वानुमानले खेलमा असर पार्न सक्ने देखिएको छ। मंगलबार धर्मशालामा ८० प्रतिशत वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुने अनुमान गरिएको छ। यदि वर्षाका कारण खेल रद्द भए अंकतालिकाको शीर्ष स्थानमा रहेको बेंगलुरु नखेलीकनै फाइनल पुग्नेछ।
सन् २०११ मा प्लेअफ प्रणाली सुरु भएयता १५ मध्ये १२ पटक क्वालिफायर–१ जित्ने टोलीले नै आईपीएल उपाधि जितेको इतिहास छ। त्यसैले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
बेंगलुरु र गुजरातबीचको प्रतिस्पर्धा अहिलेसम्म बराबरीमा छ। दुई टोलीबीच खेलेका ८ खेलमध्ये दुवैले ४–४ खेल जितेका छन्। यस सिजन भएका दुई भेटमा पनि दुवैले एक–एक जित हात पारेका छन्। पछिल्लो खेलमा गुजरात ४ विकेटले विजयी भएको थियो भने त्यसअघि बेंगलुरु ५ विकेटले जितेको थियो।
कप्तान रजत पाटीदारको नेतृत्वमा रहेको बेंगलुरुले यस सिजन आक्रामक ब्याटिङ प्रदर्शन गरेको छ। टोलीले ८ पटक २०० रनभन्दा माथिको स्कोर बनाइसकेको छ।
विराट कोहली टोलीका सर्वाधिक रनकर्ता हुन्। उनले एक शतक र चार अर्धशतकसहित ५५७ रन बनाएका छन्। देवदत्त पडिक्कल र कप्तान पाटीदारले पनि टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका छन्।
बलिङमा जोस हेजलउड र भुवनेश्वर कुमारको जोडी प्रभावशाली देखिएको छ। विशेषगरी भुवनेश्वरले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
तर, टोलीको मध्यक्रम पछिल्ला खेलहरूमा कमजोर देखिएको छ। विदेशी खेलाडी ज्याकब बेथेल रन बनाउन संघर्ष गरिरहेका छन्।

गुजरात यस सिजन बलियो बलिङ र शीर्ष क्रमको निरन्तर प्रदर्शनका कारण प्लेअफसम्म पुगेको हो।
कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णको तेज बलिङ आक्रमण विपक्षीका लागि चुनौती बनेको छ। रबाडा २४ विकेटसहित ‘पर्पल क्याप’को दौडमा छन् भने राशिद खानले १९ विकेट लिइसकेका छन्।
ब्याटिङमा कप्तान शुभमन गिल, साई सुदर्शन र जोस बटलर उत्कृष्ट लयमा छन्। साई सुदर्शनले ६३८ रनसहित ‘ओरेन्ज क्याप’ होल्ड गरेका छन्।
यद्यपि, टोलीको तल्लो मध्यक्रम र ‘फिनिसर’ भूमिकामा निरन्तरता देखिएको छैन। राहुल तेवतिया र शाहरुख खानमाथि दबाब बढेको छ।

यो खेलमा विराट कोहली र कागिसो रबाडाबीचको प्रतिस्पर्धा आकर्षणको केन्द्र बन्न सक्छ। रबाडाले कोहलीलाई चार पटक आउट गरिसकेका छन्।
त्यसैगरी फिल साल्ट विरुद्ध मोहम्मद सिराज, शुभमन गिल विरुद्ध भुवनेश्वर कुमार तथा राशिद खान विरुद्ध रजत पाटीदारको भिडन्त पनि निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ।
धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट सङ्घ मैदान यस सिजन उच्च स्कोरिङ मैदान बनेको छ। यहाँ भएका तीन खेलमध्ये पाँच इनिङ्समा २०० भन्दा बढी रन बनेका छन्। टस जित्ने टोलीले लक्ष्य पछ्याउने रणनीति अपनाउँदै सफलता हासिल गरेका छन्।
रात्रिकालीन खेल भएकाले स्पिनरहरूलाई कठिन हुन सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा दुवै टोलीका तेज बलरको भूमिका झनै महत्वपूर्ण बन्नेछ।
