विराटनगर। स्मार्ट घर र आधुनिक जीवनशैलीबारे घर निर्माण प्रदर्शनी- २०२६ मा छलफल तथा अन्तरक्रिया भएको छ। उद्योग संगठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा उक्त थिममा छलफल तथा अन्तरक्रिया भएको हो।
आजको थिमेटिक सेसनको ‘विद्युतीय सुरक्षा र ऊर्जा दक्षता’ सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी भए सो कुराले ऊर्जा जोगाउन भूमिका खेल्ने बताउनु भयो। उहाँले ऊर्जा दक्षताका लागि उपयुक्त विद्युतीय उपकरण खरिदले घरको आर्थिक बचतमा समेत भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको थियो।
‘इन्टेरियर डिजाइन अवधारणा: स्पेस प्लानिङ्ग, उपयोगिता, सौन्दर्य’ शीर्षकको सत्रमा बोल्दै न्टेरियर डिजाइनर नितेश लोहियाले इन्टेरियर डिजाइनिङ्ग खर्चिलो हुन्छ भन्ने समाजमा भ्रम रहेको बताउनु भएको थियो। उहाँले डिजाइनिङ्ग गर्दा अन्तर्राष्ट्रिय वस्तुको प्रयोग भन्दा बाँसलगायतको स्वदेशी वस्तुको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको थियो।
त्यस्तै, ‘सोलार घर: दिगो आवासको लागि’ शीर्षकको सत्रमा बोल्दै सोलार व्यवसायी अपार न्यौपानेले सोलार ऊर्जा नविकरणीय ऊर्जा भएकोले भविष्यमा एकदमै महत्त्व हुने बताउनु भएको थियो। उहाँले सोलारलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने र अधिक भएको सोलार ऊर्जालाई वैकल्पिक माध्यमबाट स्थानान्तरण गर्न उपायमा जोड दिनु पर्ने बताउनु भएको थियो।
चैत १२ देखि १६ गते सम्म सञ्चालन हुने प्रदर्शनीको अन्तिम दिन ‘मर्मत सम्भार तथा ट्रिटमेन्ट: संरक्षण, मर्मत र भवन आयु वृद्धि’ थिममा विशेषज्ञहरूसँग अन्तरक्रिया र छलफल हुने उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिनु भयो।
