Premier Cables
Premier Steel

समाचार

युवा व्यवसायी अजय यादवको विराटनगर महानगरको मेयरमा तयारी, के छन् योजना ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | साँझ ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले देशभर राजनीतिक तरंग सिर्जना गरिरहँदा अब सबैको ध्यान आगामी स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन थालेको छ।

काम, कर्तव्य र अधिकारका हिसाबले जनतासँग प्रत्यक्ष जोडिने यस निर्वाचन आउन अझै करिब एक वर्ष बाँकी भए पनि अहिलेबाटै उम्मेदवारी दाबी गर्नेहरूको संख्या बढ्न थालेको छ।

बिज्ञापन

कोशी प्रदेशको राजधानी तथा प्रदेशकै एक मात्र महानगर विराटनगर महानगरपालिकामा समेत प्रमुख पदका लागि आकांक्षीहरूको घुइँचो बढ्दो देखिएको छ।

२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल अझै करिब एक वर्ष बाँकी रहेको अवस्थामा आगामी प्रतिस्पर्धाका लागि अहिलेबाटै तयारी सुरु भएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेषगरी युवाहरूलाई स्थानीय तहको राजनीतिप्रति आकर्षित गरेको देखिन्छ। सबै क्षेत्रमा युवाको सहभागिता आवश्यक रहेको धारणा राख्दै विराटनगरका युवा व्यवसायी अजय यादवले पनि आफू विराटनगर महानगरपालिका को प्रमुख पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

लामो समयदेखि मेडिकल व्यवसायमा संलग्न रहेका यादवले अब राजनीति मार्फत जनसेवा गर्ने इच्छा व्यक्त गरेका छन्। “परिवर्तनका लागि अब युवाहरू अगाडि आउनैपर्छ,” उनले भने, “त्यसैले मेरो दाबी प्रमुख पदमा रहनेछ।”

यादवले आफ्नो उम्मेदवारीसँगै विभिन्न योजनाहरू पनि सार्वजनिक गरेका छन्। उनका अनुसार महानगरलाई व्यवस्थित, आधुनिक र दिगो शहर बनाउने लक्ष्यसहित बहुआयामिक योजना अघि सारिएका छन्-

पूर्वाधार विकासतर्फ :
एक वर्षभित्र खाडलमुक्त सडक निर्माण, सबै वडामा पक्की सडक विस्तार, व्यवस्थित नाला तथा ढल निकास प्रणाली, स्मार्ट सडक बत्ती (LED तथा सोलार प्रणाली) जडान तथा ट्राफिक व्यवस्थापन सुधार गर्ने योजना रहेको छ।

खानेपानी तथा सरसफाइ :
२४ घण्टा स्वच्छ खानेपानीको सुनिश्चितता, प्रत्येक टोलमा नियमित फोहर संकलन अभियान, सार्वजनिक शौचालयको विस्तार तथा सरसफाइमा विशेष ध्यान दिइने उनले बताए।

स्वास्थ्य सेवा सुधार :
५ मिनेटभित्र एम्बुलेन्स सेवा उपलब्ध गराउने ‘ई–एम्बुलेन्स’ प्रणाली, सबै वडामा घर–घरमा स्वास्थ्य सेवाको पहुँच विस्तार, निजी अस्पतालहरूमा स्वास्थ्य बीमा लागू गर्ने पहल तथा अशक्त र ज्येष्ठ नागरिकका लागि ‘होम क्लिनिक’ सेवा सञ्चालन गरिने योजना छ।

शिक्षा सुधार :
सरकारी विद्यालयको गुणस्तर निजी विद्यालयसरह बनाउने, डिजिटल कक्षाकोठा (स्मार्ट शिक्षा प्रणाली) लागू गर्ने तथा विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे।
रोजगारी तथा आर्थिक विकास :
युवालाई सीपमूलक तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने, विराटनगरलाई औद्योगिक तथा व्यावसायिक हबका रूपमा विकास गर्ने, स्टार्टअप तथा उद्यमशीलतालाई प्रोत्साहन गर्दै बिना ब्याज ऋण उपलब्ध गराउने तथा स्थानीय उत्पादनलाई डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
यसका साथै यादवले वातावरण संरक्षण र दिगोपनालाई प्राथमिकतामा राख्दै हरियाली शहर अभियान अन्तर्गत वृक्षरोपण कार्यक्रम सञ्चालन, वायु तथा पानी प्रदूषण नियन्त्रण, नदी तथा खोलाको संरक्षण र सरसफाइ, प्लास्टिक नियन्त्रण नीति लागू गर्ने बताएका छन्।

सुशासन र पारदर्शिता तर्फ :
‘नो करप्सन हॉटलाइन’ को व्यवस्था, सबै सरकारी कार्यालयमा अनलाइन सेवा प्रणाली लागू गर्ने, महानगरपालिकाका सबै बैठक लाइभ प्रसारण गर्ने तथा बजेट खर्चको सार्वजनिक विवरण नियमित रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।

सुरक्षा र व्यवस्थापन :
मुख्य स्थानहरूमा CCTV जडान, महिला सुरक्षा कार्यक्रम सञ्चालन, निगरानी प्रणाली विस्तार, ट्राफिक तथा अपराध नियन्त्रणमा प्रहरीसँग सहकार्य, सार्वजनिक स्थलहरूमा पर्याप्त बत्तीको व्यवस्था, निःशुल्क आपतकालीन सेवा तथा दमकल (फायर ब्रिगेड) सेवामा सुधार गर्ने योजना उनले अघि सारेका छन्। साथै विपद् व्यवस्थापन योजना, विशेषगरी वर्षायामका लागि बाढी नियन्त्रण प्रणाली विकास गर्ने पनि उनको प्राथमिकतामा रहेको छ।

पर्यटन तथा सांस्कृतिक विकास :
स्थानीय सांस्कृतिक कार्यक्रमहरूको प्रवर्द्धन, विराटनगरलाई ‘इभेन्ट सिटी’ का रूपमा विकास गर्ने, पार्क तथा हेरिटेज साइट निर्माण तथा संरक्षण गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

त्यस्तै, आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज बनाउन ‘एप–आधारित नागरिक सेवा’ सञ्चालन गर्ने र सार्वजनिक–निजी साझेदारी (PPP मोडेल) मार्फत ठूला विकास परियोजना अघि बढाउने रणनीति रहेको यादवले बताए।

यी सम्पूर्ण योजनाहरू कार्यान्वयनमार्फत विराटनगरलाई आधुनिक, व्यवस्थित, सुरक्षित तथा आर्थिक रूपमा सबल शहर बनाउने लक्ष्य रहेको यादवको भनाइ छ। यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भन्ने विषयमा हालसम्म खुलाएका छैनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa