विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ कांग्रेसका अनुभवी नेता डा. शेखर कोइराला र नयाँ उमेदवारबीच यसपटक हुने चुनावी प्रतिस्पर्धाका कारण चर्चामा छ । निर्वाचन नजिकिँदै जाँदा मोरङको यो निर्वाचन क्षेत्रमा उमेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
कोइराला परिवारको ‘लिगेसी’ र कांग्रेसको राम्रो जनमत रहनु सहज देखिएको भएपनि यसपटक रास्वपा लहरले सबै पार्टीका उमेदवारलाई प्रभाव पार्ने विश्लेषण गरिँदै छ । नयाँलाई परिणाम आफ्नो पक्षमा पार्ने र कोइरालालाई आफ्नो विरासत जोगाउने चिन्ताबीच मोरङ ६ को निर्वाचन रोचक देखिएको हो ।
कांग्रेस उमेदवार कोइरालाले पार्टीका सबै आन्तरिक कार्यक्रम सकेर कोणसभामा केन्द्रीत भएका छन् । यसअघि पार्टीका भातृसंस्थाको प्रशिक्षण, छलफल र बैठक सकाएर घरदैलोमा केन्द्रीत भएका उनी वडा, टोल, गाउँ हुँदै नगरस्तरीय कोणसभामा केन्द्रीत भएका छन् । कोइरालाको सचिवालयले जनाएअनुसार पहिलो चरणका चुनावी कार्यक्रम सकाएर उनी अहिले सभाहरुमा केन्द्रीत छन् ।
यसअघिको निर्वाचनमा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका कोइरालाले आफूले गरेका कार्यबारे मतदातालाई जानकारी गराउँदै अबको संसदीय यात्रा र आफ्नो तयारीबारे बताईरहेका छन् । राष्ट्रियस्तरको राजनीतिमा राम्रो प्रभाव पार्ने क्षमताका कोइराला उमेदवार बन्दा अन्य दलले भने नयाँलाई उठाएका छन् ।
मोरङ ६ मा कोइराला आफैं आएपछि कांग्रेसको सांगठनिक अवस्थासमेत ‘एक ढिक्का भएको’ नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं बताउँछन् । ‘‘हामीले एक चरणको घरदैलो समेत पूरा गरेर अब कोणसभामा केन्द्रीत भएका छौं, यद्यपि घरदैलो पनि जारी नै छ,’’ उनले सुनाए ।
डा.कोइरालाले चुनावी कार्यक्रमहरुमा आफू पदको लालसाले नभएर बिग्रन लागेको राष्ट्रिय राजनीति, राष्ट्रिय पहिचान, संविधानको रक्षाका लागि चुनावमा आएको बताउँदै आएका छन् । कोइराला भन्छन्,‘‘पछिल्लो आन्दोलनपछिको अवस्थालाई सम्हाल्ने उद्देश्यसाथ म निर्वाचनमा होमिएको छु ।’’ कोइरालाले सुशासन र भ्रष्टाचार विरुद्ध आफूले युवाहरुको आन्दोलनभन्दा धेरै अगाडि देखि नै आवाज उठाउँदै आएको बताए ।
यो क्षेत्रमा उमेदवार बदलेर यस पटक एमालेले विनोद ढकाललाई उमेदवार बनाएको छ । चुनावकै बेला पितृशोकमा परेका ढकाललाई चुनावी अभियान संचालन गर्न कठिनाई भएपछि उनले सामाजिक सञ्जालबाट ‘भोट अपिल’ गरिरहेका छन् । पार्टी संगठनले प्रचार अभियान संचालन गरिरहेको भएपनि मतदाताले उमेदवार खोज्दा एमाले समस्याबाट गुज्रिरहेको छ । ढकाल पितृकर्म सकाएर फागुन १३ गतेपछि मात्र भौतिक रुपमा चुनावी प्रचारमा सक्रिय हुने एमाले महानगर कमिटीले जनाएको छ । ढकाल भन्छन्,‘‘म भौतिक रुपमा बाहिर निस्कन नपाएपनि विभिन्न माध्यमबाट मतदातामाझ पुगिरहेको छु ।’’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विराटनगर माइत भएकी रुबीना आचार्यलाई उमेदवारको रुपमा प्रस्तुत गरेको छ । आचार्यले घरदैलोलाई निरन्तरता दिँदै नयाँ र परिवर्तनकारी पार्टीलाई मत दिन अपिल गरिरहेकी छिन् । भ्रष्टाचारमा शुन्य सहनशीलता र सुशासन नै आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै उनले मत मागिरहेकी छिन् । पार्टी संगठनको कमजोर उपस्थितिबीच आचार्य मतदाताको घरदैलोमा पुगिरहेकी छिन् । भन्छिन्,‘‘परिवर्तन चाहने मतदाताबाट हामीलाई यसपटक राम्रो समर्थन मिलिरहेको छ ।’’ उनले सामाजिक सञ्जालमार्फत पनि ‘भोट अपिल’ गरिरहेकी छिन् ।
नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र रायले पनि आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको बताएका छन् । घरदैलो, छलफल र मतदातासँगको साक्षात्कारमा व्यस्त रहेका उनले सर्वसाधारणबाट राम्रो रेस्पोन्स पाएको बताएका छन् । भन्छन्,‘‘नयाँ उमेदवारको रुपमा आफूले मतदातालाई विकासको प्रस्ट खाका र आगामी संसदीय यात्राबारे बताउने गरेको छु ।’’ मोरङ ६ मा यस पटक १७ जना उमेदवार चुनावी मैदानमा छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा कोइराला त्यसबेलाको मोरङ ७ निर्वाचन क्षेत्रमा मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा थिए । उनी गच्छदारसँग ५ हजार १५५ मतले पराजित भए । तर, उपनिर्वाचनमा निर्वाचन आफ्नो पक्षमा पार्दै विजयी भए । १७ वर्षपछि फेरि कोइराला र ढकाल आमनेसामने भएका छन् । सुनसरी ३ मा समेत उमेदवार रहेका गच्छदारले मोरङ छाडेपछि फोरमबाट चुमनारायण तवदार उमेदवार बनेका थिए । तर, कोइराला विजयी भए ।
२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा डा. कोइरालाले तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरे । कोइरालाले १२ हजार ९८२ मत प्राप्त गर्दा गच्छदारको १० हजार ५६४ मत आएको थियो । अहिले ६ निर्वाचन क्षेत्र भएको मोरङमा २०७४ को निर्वाचनमा भने कोइराला थोरै मतान्तरले एमालेका लालबाबु पण्डितसँग पराजित भए । तर, त्यो परिणाम उल्टाएर २०७९ को निर्वाचनमा फेरि कोइराला निर्वाचित बने । उनले ३५ हजार २१८ प्राप्त गरे । पण्डितको पक्षमा २२ हजार ९३२ मत आएको थियो । कोइराला विजयी हुँदा कांग्रेस र माओवादीबीच गठबन्धन थियो । यस पटक भने सबै दल एक्लाएक्लै चुनावी दौडमा छन् ।
उता, एमालेका उमेदवार ढकालले भने संसदीय निर्वाचनमा अहिलेसम्म विजयको स्वाद चाखेका छैनन् । २०६५ मा कोइरालासँग पराजित भएका उनी २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको मेयर पदमा कांग्रेसका भीम पराजुलीसँग हारेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ढकाल मोरङ४ मा उमेदवार थिए । तर, माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित बने ।
