काठमाडौं । अन्तिम ओभरसम्म तानिएको रोमाञ्चक खेलमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।
आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक रहे पनि नेपालले पाँच रन मात्र जोड्न सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । ४२–२ को अवस्थामा ब्याटिङमा आएका दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै मध्यक्रम सम्हालेका थिए ।
तर १४.२ ओभरमा दीपेन्द्र आउट भए । त्यसअघि कप्तान रोहित पनि दुई रन थपिँदामै आउट भएका थिए । रोहितले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए । यी दुई विकेटपछि नेपालको रनगति दबाबमा परेको थियो ।
लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । १९५ को स्ट्राइक रेटमा खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे ।
१७.२ ओभरमा आरिफ सेख आउट भए । उनलाई जोफ्रा आर्चरले विकेटकिपर जस बटलरमार्फत क्याच गराएका थिए । आठ बल खेलेका आरिफले एक छक्कासहित १० रन जोडे ।
यसअघि ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाउँदै राम्रो सुरुआत दिलाएका थिए । चार चौका र एक छक्का प्रहार गरेका कुशललाई विल ज्याक्सले ५.२ ओभरमा ‘कट एन्ड बोल्ड’ गरे । अर्का ओपनर आसिफ सेख भने नौ बलमा सात रनमै आउट भए ।
इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक्स र साम करनले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । ३५ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । ५७–३ को अवस्थामा कप्तान ह्यारी ब्रुकसँग मिलेर पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै बेथेलले मध्यक्रम सम्हालेका थिए ।
कप्तान ब्रुकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । जस बटलरले १७ बलमा २६ रन जोडे । अर्का ओपनर फिल साल्टलाई भने नेपालका शेर मल्लले एक रनमै आउट गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए । दीपेन्द्रले ज्याकोब बेथेल र साम करनलाई आउट गरे भने नन्दनले जस बटलर र ह्यारी ब्रुकको विकेट लिए ।
सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट लिए । सन्दीपले टम बान्टमलाई एलबीडब्लू गरे भने शेरले फिल साल्टको विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका शेर मल्लका लागि यो पहिलो विकेट हो ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो भेट हो ।
