मुम्बई । सन् २०१४ मा बंगलादेशमा आयोजित आईसीसी टी-२० विश्वकपबाट नेपालले पहिलो पटक क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो।
त्यतिबेला नेपालको समूहमा आयोजक बंगलादेशसहित अफगानिस्तान र हङकङ थिए। अफगानिस्तान र हङकङ नेपालका लागि परिचित प्रतिस्पर्धी थिए।
सन् २०१४ मार्च १६ मा चिटागोङस्थित जहुर अहमद चौधरी स्टेडियममा नेपालले हङकङविरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो। विश्वकप डेब्यूमै नेपालले हङकङलाई ८० रनले पराजित गर्दै शानदार सुरुआत गरेको थियो। त्यसपछि बंगलादेशसँग पराजित भए पनि तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराउँदै नेपालले पहिलो सहभागितामै दुई जित निकाल्न सफल भएको थियो।
यद्यपि नेट रनरेटमा पछि परेपछि नेपाल सुपर १२ मा पुग्न सकेन। तर डेब्यू विश्वकपमा देखाएको प्रदर्शनले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउने अवसर दिएको थियो। त्यसयता धेरै युवा खेलाडी विश्वकप खेल्ने सपना बोकेर क्रिकेटतर्फ आकर्षित भएका थिए।
पहिलो विश्वकपपछि नेपालले थप दुई पटक टी–२० विश्वकपमा स्थान बनाएको छ। हाल भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको टी-२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गरिरहेको छ। यो नेपालका लागि लगातार दोस्रो र समग्रमा तेस्रो विश्वकप सहभागिता हो।
यस अवधिमा नेपालले विश्वकपमा उल्लेखनीय प्रदर्शन गर्दै टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने अनुभव बटुलेको छ र केही अवसरमा टेस्ट टोलीलाई हराउने नजिकसमेत पुगेको छ।
तर सन् २०१४ मार्च २० मा बंगलादेशमा अफगानिस्तानलाई हराएयता नेपालले टी–२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा नेपाल समूह चरणका चारमध्ये तीन खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण हुन सकेन।
हाल भइरहेको विश्वकपमा नेपालले पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्यान्डविरुद्ध खेलेको थियो। रोमाञ्चक प्रतिस्पर्धामा नेपाल जितको निकै नजिक पुगेर ४ रनले पराजित भयो।
अब नेपालले समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेल बिहीबार इटलीसँग खेल्नेछ। यो खेल नेपालका लागि १२ वर्षपछि विश्वकपमा पुनः जित निकाल्ने अवसरका रूपमा हेरिएको छ।
वरियताका हिसाबले इटली यस विश्वकपमा सहभागी टोलीहरूमध्ये तल्लो स्थानमा रहेको छ। इटली २७औँ स्थानमा छ र यो उसको टी–२० विश्वकप डेब्यू हो। यस संस्करणमा डेब्यू गर्ने एक मात्र टोलीका रूपमा इटलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रचेको छ। पहिलो खेलमा भने इटली स्कटल्यान्डसँग पराजित भएको थियो।
इंग्ल्यान्डसँगको ४ रनको हारपछि इटलीसँगको खेलअघि नेपालका कप्तान रोहित पौडेलले मंगलबार वानखेडे स्टेडियममा आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा पहिलो खेलबाट दबाब व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय लिन सिकेको बताएका थिए।
इंग्ल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि नेपालले विश्वभरबाट प्रशंसा पाएको छ। सोही लय कायम राखे इटलीलाई पराजित गर्न सकिने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्। समूहका सबै खेल वानखेडे स्टेडियममै हुने भएकाले नेपाली समर्थकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
नेपाली टोली जहाँ खेले पनि समर्थकहरूको बाक्लो साथ पाउने गरेको छ। पहिलो खेलपछि टोलीका सदस्य नन्दन यादवले यसलाई नेपाली समर्थकको अपार माया र समर्थनको प्रतीकका रूपमा व्याख्या गरेका थिए।
