Premier Cables
Premier Steel

राजनीति

कांग्रेस विशेष महाधिवेशनः हिन्दू राष्ट्रको पक्षमा उठ्यो कुरा

Calendar मंगलबार, पुष २९, २०८२  | अपराह्न १२:२२ बजे

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्तावमाथि समूहगत छलफलपछि प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ। छलफलका क्रममा हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब तीव्र बन्दै गएको छ।

कसले के भने ?

बिज्ञापन

मधेश प्रदेशका वीरेन्द्र साहले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए। साथै, कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको सार्वजनिक सम्पत्तिको छानबिन हुनुपर्ने माग गरे। उनले पार्टीमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउने व्यवस्था गर्नुपर्ने र कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने बताए।

साथै, उनले संघीय बजेट जनसंख्याको आधारमा वितरण हुनुपर्ने, प्रदेशमा क्लस्टरका आधारमा निर्वाचन प्रणाली लागू गर्नुपर्ने र सुनकोसी–मरिन डाइभर्सन परियोजनाबाट तराईमा सिँचाइका लागि विशेष व्यवस्था गर्नुपर्ने माग राखे।

लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले पार्टीभित्र तल्लो तहबाटै माथिल्लो तहसम्म पुग्ने स्पष्ट बाटो खुल्नुपर्ने बताए। कांग्रेसमा सधैं माथिल्लो तहका नेताहरू मात्रै सार्वजनिक पदमा जाने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको उनको भनाइ थियो।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आत्मसमीक्षा गर्दै सुधार गर्न सके ‘अजय शक्ति’को रूपमा उभिन सक्ने बताए। उनले सधैं अरूको सहारामा राजनीति गर्दा पार्टीको प्रभाव घट्दै गएको भन्दै अब आफ्नै खुट्टामा उभिनुपर्ने आवश्यकता औंल्याए।

जेनजी आन्दोलनका क्रममा भएका घटनाप्रति क्षमा माग्दै शर्माले पार्टीले अब भावी बाटो स्पष्ट रूपमा तय गर्नुपर्ने बताए। ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दा पनि संस्थापन पक्षले नमान्नु गलत भएको उनको भनाइ थियो। कांग्रेसले नयाँ नेतृत्व खोजिरहेको भन्दै उनले नयाँ दिशाबाट अघि बढ्नुपर्ने, गुमेका विरासत फिर्ता ल्याउने पहल गर्नुपर्ने र हिन्दू राष्ट्र पुनःस्थापनाको विषयमा पनि बहस गर्नुपर्ने बताए।

कर्णाली प्रदेशका हर्ष बमले राजनीतिमा नैतिकताको गम्भीर अभाव रहेको उल्लेख गरे। उनले नैतिकता नहुँदा शासक तानाशाह बन्ने खतरा हुने चेतावनी दिँदै नीति जसको हुन्छ, नेतृत्व पनि उसैको हुनुपर्ने धारणा राखे। हलबाटै नेतृत्व चयन हुनुपर्ने भन्दै बन्द कोठामा हुने षड्यन्त्र अब स्वीकार्य नहुने उनको भनाइ थियो।

बागमती प्रदेशकी सीता मिजारले महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको साङ्गठनिक प्रतिवेदनमाथि सुझाव दिँदै संघ र प्रदेशमा कति पटकसम्म मन्त्री वा सांसद हुन पाउने भन्ने स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्। साथै, गगन थापाको प्रतिवेदनको बुँदा ९ (क) र (ग) मा दलितसम्बन्धी व्यवस्था छुटेको भन्दै समेट्न माग गरिन्। संविधानमै दलितका विषयहरू धेरै स्थानमा छुटेकाले परिमार्जन आवश्यक रहेको उनको धारणा थियो।

उनले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा भूगोल छुट्याउनुपर्ने र हालको संरचनाले दलित समुदायलाई चुनाव लड्न कठिन बनाएको पनि बताइन्।

पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनमार्फत नै नेता र नेतृत्व चयन गर्नुपर्ने अडान दोहोर्‍याए। उनले चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति बनाउनुपर्ने माग गरे। निर्वाचनपछि संविधानको रक्षा गर्दै आगामी जनादेश तय गर्नुपर्ने, पार्टीभित्र आन्तरिक निर्वाचन समिति गठन गर्नुपर्ने र जेनजी आन्दोलनको भावनाअनुसार युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने उनले बताए।

पार्टी संरचना सुदृढ बनाउन सबै पुस्ताबीच एकरूपता कायम गर्दै अन्यायमा परेका पुस्तालाई अगाडि ल्याउनुपर्नेमा उनले जोड दिए।

लुम्बिनी प्रदेशकी अनिता शाहले कांग्रेसले लोकतन्त्र र पारदर्शिताका विषयलाई लिखित रूपमा स्पष्ट गर्नुपर्ने बताइन्। साङ्गठनिक नेतृत्वमा महिलाको सहभागिता बढाउँदै कम्तीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने उनको माग थियो। साथै, ठूलो आकारको केन्द्रीय समितिलाई सानो, चुस्त र प्रभावकारी बनाउनुपर्ने सुझाव पनि उनले दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka