फायल फोटो
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा पालिका अधिवेशन हुँदैछ। पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा कांग्रेसले आज पालिका तहको नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार हुने अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार छिटपुट स्थानबाहेक देशभरका अधिकांश वडामा शान्तिपूर्ण र उत्साहजनक रूपमा वडा अधिवेशन सम्पन्न भइसकेको छ।
बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार नै अधिवेशन सम्पन्न भएको छ। यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि वडा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार रसुवाको अवस्थालाई मध्यनजर गर्दै अधिवेशनको मिति पछि निर्धारण गरिनेछ।
