Premier Cables
Premier Steel

राजनीति

सरकारविरुद्ध एमाले कोसी प्रदेशद्वारा आन्दोलन घोषणा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०८, २०८२  | अपराह्न १२:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर। नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका निर्णय र गतिविधिलाई असंवैधानिक तथा प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलनमा उत्रने घोषणा गरेको छ।

विराटनगरको मंगलबनरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सरकारका कदमहरू स्वीकार्य नरहेको भन्दै आन्दोलन अपरिहार्य भएको बताए। “असंवैधानिक सरकारले गरेका निर्णय र कार्यहरू हामी मान्दैनौँ,” उनले स्पष्ट पारे।

अध्यक्ष खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोधको उद्देश्य राखेको आरोप लगाइएको छ। त्यसविरुद्ध कोसी प्रदेशका १४ वटै जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ।

विज्ञप्तिमा हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि पार्टीप्रति जनसमर्थन बढेको र त्यसबाट सरकार भयभीत भएको दाबी गरिएको छ। “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन खोजिँदैछ,” विज्ञप्तिमा उल्लेख छ।

एमालेले २०८२ भदौ २३ र २४ का घटनासँग जोड्दै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको आरोप लगाएको छ। यसले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग दोहोर्‍याइएको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत कोसी प्रदेशका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव र्‍याली तथा अन्य विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, सरकारी धरपकड वा प्रतिशोधपूर्ण कदमको कडा प्रतिवाद गरिने चेतावनी दिइएको छ।

“असंवैधानिक सरकारका कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध आजैदेखि प्रतिकार सुरु गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

एमालेले यो आन्दोलन पार्टीगत मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै अन्य राजनीतिक दल, बौद्धिक वर्ग, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा–विद्यार्थीलाई ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka