Premier Cables
Premier Steel

राजनीति विराटनगर

पराजयको पर्याय गुरु बराल : यस्तो छ विगत

Calendar बिहिबार, पुष ०३, २०८२  | साँझ ५:४७ बजे

विराटनगर। नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मोरङका गुरुप्रसाद बराल उपाध्यक्ष पदका उम्मेदवार थिए  ।  

अध्यक्ष केपी शर्मा ओली समूहमै रहेर प्रतिस्पर्धा गरेका बराललाई दह्रो ‘प्यानल’ अफाप बन्यो ।‌  उपाध्यक्षसंगै उनी होइन, केन्द्रीय सदस्यमा समेत पराजित भएका छन् ।

बिज्ञापन

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्र प्राप्त गरे। केन्द्रीय सदस्यमा निर्वाचित हुन कम्तीमा १ हजार ५०० मत आवश्यक थियो। उपाध्यक्ष पदमा उनले १ हजार १३७ मत पाए। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा ‘बादल’ (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भएका छन् ।

महाधिवेशनअघि बराल मनोनित उपाध्यक्ष थिए। दशौँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त पदमा उनलाई मनोनयन गरिएको थियो। यसअघि उनी पार्टीको स्थायी कमिटी सदस्य र बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

तर पार्टी र आम निर्वाचन समेत उनलाई अफाप सिद्ध हुंदै आएको छ । पार्टीका आन्तरिक निर्वाचनदेखि संसदीय चुनावसम्म, बलियो सम्भावना हुँदाहुँदै व्यवस्थापन कमजोर हुँदा उनी पटक-पटक पराजित हुँदै आएका छन्।

पाँचौँ महाधिवेशनदेखि नै अध्यक्ष ओलीसँग निकट रहेका बरालको संसदीय यात्रा उतारचढावपूर्ण छ। वि.सं. २०५१ को उपनिर्वाचनमा मोरङ-६ बाट विजयी भएयता उनी लगातार चुनावी हार बेहोर्दै आएका छन्। २०५६ मा मोरङ-६, २०६४ को संविधानसभा निर्वाचनमा मोरङ–४ र २०७० मा मोरङ–३ बाट उनी पराजित भए। २०७४ मा मोरङ–३ बाट आकांक्षी भए पनि टिकट भानुभक्त ढकालले पाए।

२०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि उनको हार चर्चामा रह्यो। पार्टीकै दुई प्रदेश सांसदको ‘अन्तरघात’का कारण नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग उनको मत बराबरी भयो। अन्ततः गोलाप्रथाबाट निर्णय हुँदा बराल पराजित भए र बस्नेत निर्वाचित भए।

चुनावी असफलताका बाबजुद अध्यक्ष ओलीसँगको विश्वासिलो सम्बन्धका कारण पार्टीभित्र बरालको प्रभाव उल्लेखनीय छ। कोशी प्रदेशमा ओली सहभागी हुने कार्यक्रमहरूको रूपरेखा तय गर्नेदेखि स्थानीय निर्वाचनमा टिकट वितरणसम्म उनको भूमिका निर्णायक रहँदै आएको छ। पार्टी विभाजनपछि उनी पुनः शक्ति केन्द्रमा फर्किएका छन्।

करिब ५५ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय बराललाई त्याग, निष्ठा र इमानदारिताको प्रतीकका रूपमा पनि चिनिन्छ। विकास राजनीति र नीतिगत अनुसन्धानमा दख्खल राख्ने उनले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka