काठमाडौं । पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। साविक उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको हो।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउन उतरेको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। यो एनपीएलको दोस्रो संस्करणमै कुनै पनि टोलीले व्यहोरेको सबैभन्दा ठूलो रनअन्तरको हार पनि बनेको छ।
विराटनगरका ओपनर फाफ डु प्लेसिसले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै सबैभन्दा बढी ३६ रन जोडे। मर्चेन्ट डी लांगेले १५ तथा बसिर अहमेदले १२ रन बनाएका थिए। बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। साम हेजलेट इन्निङ्सको पहिलो बलमै आउट भए भने नरेन भट्ट दोस्रो ओभरमै ‘गोल्डेन डक’ भए। मार्टिन गप्टिल २ रनमा रनआउट भएपछि क्रमशः लोकेश बम (५), नारायण जोशी (१) र प्रतिश जिसी (३) पनि सस्तैमै पेभिलियन फर्किए।
सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले समान २–२ विकेट लिए। हर्मितले चार ओभरमा २० रन मात्रै खर्चिए भने कुग्गेलिनले तीन ओभर बलिङ गर्दै नौ रन छुट्याए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो। ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको उत्कृष्ट पारी खेले, जसमा तीन चौका र दुई छक्का समावेश थिए। यो एनपीएलको दोस्रो संस्करणमा उनको दोस्रो अर्धशतक हो। उनलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटको सहयोगमा क्याच आउट गरेका थिए।
सेल्डन ज्याक्सनले ११ बलमा २० रन, हर्मित सिंहले १४, इशान पाण्डेले १३ तथा आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी भने ३ रनमै सीमित भए र बसिर अहमेदको ओभरमा मर्चेन्ट डी लांगे तथा किपर लोकेश बमले रनआउट गरे।
विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले एक–एक विकेट हात पारे।
लिग चरणमा सुदूरपश्चिम ७ खेलबाट १२ अंक सहित शीर्ष स्थानमा तथा विराटनगर १० अंकसहित दोस्रो स्थानमा रहेका थिए। पहिलो क्वालिफायर जितेपछि सुदूरपश्चिम सिधै फाइनलमा पुगेको छ।
पराजित विराटनगरले अब बुधबारको इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नेछ। इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्।
