Premier Cables
Premier Steel

राष्ट्रिय

पार्टीको संगठन विस्तारमा आक्रामक हर्क साम्पाङ, फेसबुक ‘स्टाटस’कै भरमा राजनीतिक सभा

कुमार लुइँटेल Calendar मंगलबार, मंसिर २३, २०८२  | अपराह्न १२:३८ बजे

विराटनगर । ‘काकाकुल’ नियतिका धरानवासीलाई पानी खुवाउने योजनासाथ स्वतन्त्र उमेदवारी दिँदै धरान उपमहानगरको मेयर बनेका हर्क साम्पाङ यतिबेला पार्टी विस्तार निम्ति देश दौडाहामा छन् ।

पहिला उनको प्राथमिकता धरान मात्र थियो । तर, अब उनले पहिलो चरणमा कोसी प्रदेशका मेची र कोसी पहाडमा ‘भव्य’ राजनीतिक सभा तथा कार्यक्रम गरिसकेका छन् । अर्थात् धरानको मात्र प्राथमिकता बदलिएको छ ।

बिज्ञापन

उनी पाँच वर्षे कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए । तर, उनले तीन वर्षभित्रै नयाँ पार्टी दर्ता गरी राष्ट्रिय राजनीतिमा फड्को मार्न खोज्दै छन् ।

उनी राष्ट्रिय राजनीतिमा छाउने योजनासाथ अघि बढेको बताउँछन् । साम्पाङ भन्छन्, ‘‘अब देश बनाउने कार्य जिम्मेवारीसाथ राजनीतिमा सक्रिय बनेको छु ।’’

पार्टी दर्ताको प्रमाण–पत्र पाएपछि साम्पाङले गत कात्तिक १७ गते मोरङको लेटाङमा पहिलो राजनीतिक सभा गरे । त्यसपछि धरान, तरहरा (सुनसरी) र पाँचथरको फिदिम हुँदै ताप्लेजुङ पुगे ।

इलामको माङ्सेबुङमा पार्टी समिति घोषणासभामा त्यहाँका पहिचानवादीहरूको ठूलो समूह सहभागी थियो । ती स्थानका सभामार्फत साम्पाङले ठूला दललाई स्पष्ट सन्देश दिएका छन्, ‘श्रम संस्कृति पार्टी’ विस्तार हुँदै छ । भोजपुरको कार्यक्रम सकाएर उनी हेटौंडातर्फ लाग्ने तयारीमा छन् ।

पहिलो चरणमा साम्पाङका सभाहरू कोसी प्रदेशको उत्तरी क्षेत्रमा केन्द्रित थिए । जनजाति बाहुल्य क्षेत्रमा राम्रो उपस्थिति थियो । उनले फेसबुकमार्फत् निमन्त्रणा गर्दा उनलाई हेर्न र सुन्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।

सभामा निकै उत्साहित देखिन्छन्, साम्पाङ । अनि उनी सभामै प्रश्न गर्छन्, ‘औजार बोक्न र पसिनाको क्रान्ति गर्न तयार हो ?’
सहभागीहरुबाट जवाफ आउँछ, ‘हो ।’

त्यसपछि साम्पाङ भन्छन्, ‘त्यसो भए, तपाईंहरूलाई श्रम संस्कृति पार्टीमा हृदयदेखि स्वागत छ ।’

हरेकसभामा साम्पाङ करिब ४० मिनेट बोल्छन् र देश बनाउने खाका प्रस्तुत गर्छन् । सरल र बोलीचालीकै भाषामा भाषण गर्ने भएकैले साम्पाङको भाषणलाई सहभागीहरूले निकै चाख दिँदै सुन्ने गर्छन् ।

उनी भन्छन्, ‘देश टाठाबाठाले बिगारेको भएकाले अब तपाईँ–हामीजस्ता सरल मान्छेहरूले मिलेर बनाउनु पर्छ ।’
साम्पाङले जनजाति बाहुल्य क्षेत्रबाट संगठन विस्तार र राजनीतिक कार्यक्रमलाई अघि बढाएका छन् । नामाकरणका बेला सबैभन्दा बढी विवाद कोसीमै भयो ।

पहिचानवादीहरूले ‘कोसी’ नाम अझै स्वीकार गरेका छैनन् । जातीय संगठनका साइनबोर्डमा प्रदेश–१ देखिन्छ । नामकरणको विरोध गर्ने क्रममा भएको आन्दोलनमा एक जना पहिचानवादीको मृत्यु समेत हुन पुगेको थियो ।

‘‘अब देशको जिम्मा लिने हिम्मत् पनि देखाउनुपर्छ,’’ साम्पाङ भन्छन् । श्रमसंस्कृति अझै फैलाउने र राष्ट्रियता दर्बिलो बनाउने भन्दै उनले कोसी प्रदेशबाट राष्ट्रिय अभियान सुरु गरेको बताए ।

जेनजी विद्रोह सफल भएसँगै साम्पाङ समर्थकसहित काठमाडौं पुगे । प्रधानमन्त्री बन्ने सूचीमा जेनजी युवाले ‘डिस्कर्ड’मा भोटिङ गर्दा साम्पाङको नाम पनि समावेश थियो । त्यतिबेलै ‘प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको’ बताएका साम्पाङ धरान फर्किए । त्यसपछि पार्टी गठनमा सक्रिय बने ।

पार्टीका महासचिव आरएन राईका अनुसार, देशभरका ३० देखि ३५ जिल्लामा तदर्थ समिति गठन भइसकेको छ । विदेशका मलेसिया, कतार र यूएईमा समेत समिति बनेका छन् ।

साम्पाङको धरानभन्दा बाहिर ‘क्रेज’ बढी छ । पुराना दलसँग असन्तुष्टि र पहिचान पक्षधर समुदायले उनलाई धेरै रुचाएका छन् । उनले दलको प्रमुख आधार पनि पहिचानलाई नै बनाउँदै अघि बढ्ने रणनीति लिएका छन् ।

अब धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उमेदवारी दिने उनको तयारी छ । पछिल्लो समय साम्पाङले उपमहानगरको काममा भन्दा राजनीतिक सभा, सम्मेलन र पार्टी विस्तारमा बढी ध्यान दिइरहेका छन् ।

सुनसरी–१ एमालेको परम्परागत गढ मानिन्छ । तर, हरेक परिवर्तनमा अग्रगामी मानिने यो क्षेत्र साम्पाङका लागि धेरै चुनौतीपूर्ण नहुन सक्छ । जनजातिबाहुल यो क्षेत्रमा ‘श्रम संस्कृतिको ब्रान्ड’ राम्रैसँग चल्ने अनुमान गरिन्छ ।

सामाजिक सञ्जालमा पुराना राजनीतिक दलका नेतादेखि काठमाडौं मेयर बालेन शाहविरुद्ध समेत खरो अभिव्यक्ति दिँदै छन्, हर्क साम्पाङ । त्यसो त, जेनजी सरकारकी प्रधानमन्त्री सुशील कार्कीको आलोचना गर्न छाडेका छैनन् ।

२०७९ सालको निर्वाचनअघि एउटा अटोमा हाते माइक बोकेर प्रचारमा हिँड्दा हर्क साम्पाङलाई ठूला भनिएका दलले प्रतिस्पर्धी नै मानेनन् । कारण थियो, २०७६ को स्थानीय तहका उपनिर्वाचनमा उनले ४२२ मत मात्र पाउनु ।

स्वतन्त्र उमेदवारको रूपमा दललाई गाली गरेर २०७९ सालको निर्वाचन जितेका साम्पाङले श्रमदान अभियान चलाए । हराउँदै गएको श्रम संस्कृतिलाई पुनः प्रयोगमा ल्याएका साम्पाङ फेसबुक ‘स्टाटस’ र सार्वजनिक अभिव्यक्तिका कारण चर्चामा रहे ।

दललाई गाली गरेर सुरु भएको उनको राजनीति मेयर निर्वाचित भएको तीन वर्षमै दल निर्माण गर्ने अवस्थामा पुगेको छ । आफूलाई श्रम संस्कृतिको ब्रान्ड दाबी गर्ने साम्पाङले ‘माटो’ चुनाव चिह्न लिँदै श्रम संस्कृति पार्टी देशभर विस्तार गर्ने अभियानमा छन् ।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिन १२० राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार, निर्वाचनमा भाग लिन यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेस गरेका हुन् ।

आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेनजी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकामा २० हाराहारीले निवेदन दिएका छन् । ११ वटा जति नयाँ दल दर्ताको प्रक्रियामा रहे पनि आवश्यक कागजात पुर्‍याउन नसकेकाले उनीहरू चुनावमा भाग लिनबाट वञ्चित हुनेछन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चिह्नमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

नयाँ खुलेका दलमध्ये सबैभन्दा बढी आक्रामक रूपले संगठन विस्तारमा साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी नै देखिएको छ । यो पार्टीले पूर्वबाट आफ्नो संगठन विस्तार मात्र हैन, ठूलाठूला राजनीतिक सभा गरिसकेको छ । उनको फेसबुक ‘स्टाटस’को भरमा सभामा उल्लेख्य जनसमुदायको सहभागिता देखिने गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka