Premier Cables
Premier Steel

खेलकुद

विराटनगरको ‘ब्रेक’ मा बोपारा-रञ्जित ‘स्वर्णजोडी’ को कमाल

Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान १०:१४ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का इंग्लिस स्टार ब्याटर रवि बोपारा यस सिजन पनि उत्तिकै धम्किरहेका छन्।

पहिलो संस्करणमा चितवन राइनोजबाट दोस्रो सर्वाधिक रन (२८६) बनाएका उनले दोस्रो संस्करणमा पनि निरन्तर अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। बोपारा एनपीएल इतिहासमै लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने एक्ला ब्याटर बनेका छन्।

बिज्ञापन

बुधबार (मंसिर १०) अपराजित रहेको विराटनगर किंग्सविरुद्ध मैदानमा उत्रँदा पनि बोपाराले ६५ रनको सानदार इनिङ खेले। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रनको प्रतिस्पर्धी योगफल बनायो।

१२६ रनमै समेटियो विराटनगर
१७५ रनको लक्ष्य पछ्याउन मैदानमा आएको विराटनगर १६.५ ओभरमै १२६ रनमा समेटियो। चितवनका बलर रञ्जित कुमारले शानदार प्रदर्शन गर्दै एकै खेलमा पाँच विकेट लिँदै विराटनगरको इनिङ धराशायी बनाएका थिए। उनी एनपीएल दोस्रो संस्करणमा एकै खेलमा पाँच विकेट लिने पहिलो तथा हालसम्मकै एक मात्र बलर बने।

खेलपछि रञ्जितले भने, “आज मेरो दिन हो भन्ने भावना थियो। जसरी भए पनि टिमलाई जिताउँछु भनेर मैदानमा उत्रिएको थिएँ।” उनले ४ ओभरमा २१ रन खर्चेर ५.२५ को इकोनोमीसहित पाँच विकेट लिएका थिए।

बोपारा–रञ्जितको ‘स्वर्णजोडी’
बोपाराले ३८ बलमा तीन चौका र चार छक्कासहित ६५ रन बनाउँदै चितवनलाई बलियो आधार दिए। उनको सुरुआती अवस्थामा गरिएको क्याच ड्रप विराटनगरका लागि महँगो साबित भयो। यस्तै रञ्जितले विराटनगरका शीर्ष तथा मध्यक्रमका खेलाडी— साम हेजलेट, बसिर अहमेद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङलाई पभेलियन फर्काएर खेललाई एकतर्फी पारिदिए।

यो खेल सहित चितवनले तीन खेलमा दुई जित दर्ता गर्दै शीर्ष चारमा पुग्ने सम्भावना जीवित राखेको छ। बोपाराले तीन खेलमै १८३ रन बनाउँदै औसत ६१ कायम गरेका छन्, जसले उनलाई दोस्रो संस्करणकै मात्र होइन, समग्र एनपीएलका सर्वाधिक रनकर्तामा अगाडि सारेको छ (कुल ४६९ रन)।

यसअघिका तीन खेलमा विजयी विराटनगर आज ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोर देखियो। कन्सलट्यान्ट प्रशिक्षक धम्मिका प्रसादले पनि गल्तीले हार निम्त्याएको स्वीकार गरे। “सुरुआतदेखि नै राम्रो गर्न सकेनौँ। बलिङ र ब्याटिङ दुबै पक्ष जिम्मेवार छन्,” उनले भने।

जनकपुर बोल्ट्सविरुद्ध फील्डिङ गर्दा घाइते बनेका चर्चित ओपनर मार्टिन गप्टिल नखेले पनि धम्मिकाले हारका लागि गप्टिलको अनुपस्थितिलाई बहाना नबनाउने बताए।

विराटनगर अझै पनि शीर्ष चारको दौडमा बलियो स्थितिमै छ, तर यस हारले प्लेअफ समीकरण भने केही जटिल बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka