कामठाडौं । सन्दीप लामिछानेप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।
विराटनगरका कप्तान लामिछानले प्रतिश जिसीलाई बल थमाउँदा अन्तिम ओभरमा जनकपुरलाई जितका निम्ति १७ रनको आवश्यकता थियो । स्ट्राइकमा रहेका लोफ्टी इटोनले एक रन लिए । दोस्रो बल वाइड भए पनि ननस्ट्राइकमा रहेका इटोन रनका निम्ति दौडिँदा विकेटकिपर लोकेश बमबाट रनआउट भए ।
यसपछि ब्याटिङका निम्ति आएका ललितले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बल प्रतिशले डट फ्याके । चौथो बलमा ललितले एक रन लिँदै किशोर महतोलाई स्ट्राइकमा ल्याए । पाँचौँ बल पनि प्रतिशले डट फ्याकेपछि विराटनगरको जित सुनिश्चित भएको थियो । छैटौँ बल पनि किशोरले डट खेले पनि जनकपुर नौ रनले पराजित भएको हो ।
जनकपुरका जान निकोल लोफ्टी इटोनले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा चार चौका र एक छक्का प्रहार गरे । ७७–५ को नाजुक स्थितिबाट ३४ रनको साझेदारी गर्दै इटोन र रुपेश सिंहले जनकपुरको इनिङ सम्हालेका थिए । तर, १८औँ ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि खेल पुनः विराटनगरको पक्षमा ढल्किएको थियो । सन्दीपले उक्त ओभरको दोस्रो बलमा रुपेशलाई विकेटकिपर लोकेश बमबाट क्याच गराए । तेस्रो बलमा सन्दीपले सन्जिथ कुरेलाई नारायण जोशीबाट क्याच गराए ।
रुपेशले आठ रन थपे । यसबाहेक, ओपनर लहिरु मिलान्थाले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन थपे । आसिफ सेखले ११ बलमा दुई चौकासहित १३ रन जोडे । सञ्जयक कृष्णमुर्थीले १२ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाए ।
विराटनगरका सन्दीपले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा ११ रनमात्र खर्चिए । सन्दीपले जनकपुरका कप्तान अनिलकुमार साह, लहिरु मिलान्था, रुपेश सिंह र संगिथ कुरेलाई पभेलियनको दिशा देखाएका थिए । सन्दीपको इकोनोमी तीन पनि कटेन ।
सूर्य तामाङले दुई विकेट लिए । चार ओभरमा उनले २० रनमात्र खर्चिए । मर्चेन्ट डी लांगे र सुभव रन्जानेले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।
विराटनगरका बसिर अहमेदले ३६ रन बनाए । बसिरले ३५ बलमा तीन छक्का प्रहार गरे । ५५–२ को स्थितिबाट बसिरले सुभव रन्जानेसँग ५२ रनको साझेदारी गर्दै विराटनगरलाई १०० पार गराएका थिए । रन्जानेले २९ बलमा दुई चौका र दुई छक्कासति ३७ रन थपे ।
ओपनर लोकेश बमले २८ रन जोडे । मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन जोडे । विराटनगरका मर्चेनट डे लांगे गोल्डेन डक भए ।
विराटनगरलाई मध्यम योगफलमा रोक्न बलिङतर्फ संगिथ कुरे र रुपेश सिंहले समान दुई विकेट लिए । कोरेले चार ओभर बलिङ गर्दा २६ रन खर्चिए । आदित्य मेहताले एक विकेट हात पारे ।
प्रतियोगितामा विराटनगरको यो लगातार तेस्रो जित हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यता, जनकपुरको भने यो लगातार दोस्रो हार हो । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।
