काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा ज्ञवालीले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्याएर दलहरूको परीक्षण गरिरहेको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भए पनि वर्तमान सरकार पूर्णतः असंवैधानिक भएको जिकिर गरे ।
“दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने कुराको परीक्षण सरकारले गरिरहेको छ । यदि यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो । दलहरूले आफ्नो नियमित गतिविधि र छलफलसमेत गर्न नपाउने स्थिति बन्छ,” उनले भने ।
बुधबार प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे दलहरूसँग छलफल गरेकी हुन् । एमालेका प्रतिनिधि भने छलफल नसकिँदै बाहिरिएका थिए ।
