Premier Cables
Premier Steel

राजनीति

नेपाली कांग्रेसको हविगतः बैठक बसेको बस्यै, उपलब्धि शुन्य ?

Calendar बिहिबार, कार्तिक २७, २०८२  | बिहान १०:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि जारी छ र नेताहरूबीच महाधिवेशनको विषयमा मतभेद बढेसँगै बैठक लम्बिँदै गएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आज बिहान सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा पनि यही विषयमा छलफल जारी रहनेछ।

बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विशेष महाधिवेशन माग गर्ने नेताहरूको भावनालाई सम्मान गर्दै नियमित महाधिवेशनमार्फत समाधान खोज्न सुझाव दिएका छन्। उनका अनुसार, महाधिवेशन अघि वा पछि गर्ने भन्ने विवाद बढाउनु भन्दा सर्वसम्मत निर्णय लिनु पार्टीका लागि उचित हुनेछ।

बिज्ञापन

उनले भने, “विशेष महाधिवेशनको मागलाई पनि समेटेर सर्वसम्मत निर्णय निकाल्नुपर्छ। अहिले पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ।”

डा. कोइरालाले वर्तमान असुरक्षित वातावरणमा सरकारलाई शान्त वातावरण बनाउन दबाब दिनुपर्ने बताएका छन्।
उनले थपे, “प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फिर्ता ल्याउने जिम्मेवारी सरकारको हो। त्यसका लागि दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जानुपर्छ।”

उनका अनुसार, जेन–जी आन्दोलनपछि सरकारले मात्र परिवर्तन देखिएको भए पनि संविधान अपरिवर्तित भएकाले आगामी प्रतिनिधिसभाले संविधान संशोधनमार्फत आन्दोलनका जायज माग सम्बोधन गर्न सक्नेछ।

बैठकमा नेता रमेश लेखकले पनि कांग्रेसले अहिले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार, संसद् पुनर्स्थापनाभन्दा पनि निर्वाचनमार्फतै संवैधानिक समाधान खोज्नुपर्छ।
उनले भने, “अहिले दुई विकल्प छन् — संसद् पुनर्स्थापना वा निर्वाचन। तर, कांग्रेसले निर्वाचनलाई नै पहिलो प्राथमिकता दिनुपर्छ।”

लेखकले महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी प्रस्तावहरूलाई मिलाएर साझा कार्यतालिका बनाउनुपर्ने सुझाव पनि दिए।
उनका शब्दमा, “दुईवटा क्यालेन्डर आएका छन्, अब तीलाई मिलाएर एउटा साझा कार्यतालिका बनाएर अघि बढौं।”

यस क्रममा उनले भदौ २३ गतेको जेन–जी आन्दोलनपछि गृहमन्त्री पदबाट राजीनामा दिने आफ्नो निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोजेको प्रसंग पनि स्मरण गरे। उनले भने, “म राजीनामा गर्छु भनेर क्याबिनेट बैठकमै लेखित रूपमा बुझाएँ, तर प्रधानमन्त्रीले रोक्न खोज्नुभयो। तर म अडिएँ।”

त्यस्तै, पूर्वउपसभापति विजयकुमार गच्छदारले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताउँदै विशेष महाधिवेशनमा जान नहुने धारणा राखे।
उनले भने, “महाधिवेशनका विषयमा विवाद होइन, एकता आवश्यक छ। विशेष होइन, नियमित महाधिवेशनमै जाऔं।”

बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले पनि नियमित महाधिवेशन गर्न कसले रोकेको हो भनेर प्रश्न उठाए। उनले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नगरी अन्यलाई दोषारोपण गर्ने प्रवृत्तिको आलोचना गरे।
उनले भने, “महामन्त्रीले आफ्नो जिम्मेवारी पूरा नगरी अरूको नाममा दोष नथोपर्नुहोस्। यदि मंसिरमा महाधिवेशन गर्ने भनिएको हो भने कार्यतालिका ल्याउनुहोस् — नियमित नै गरौं, किन विशेष?”

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka