Premier Cables
Premier Steel

खेलकुद

एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब फाइनलमा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | साँझ ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड। शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमबीच कडा प्रतिस्पर्धा देखिएको थियो। २४औं मिनेटमा पुलिसले कर्नर किकबाट गोलको मौका पाएको थियो, तर पूजा रानाको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट रूपमा बचाइन्।

बिज्ञापन

३०औं मिनेटमा संकटा अग्रता लिन नजिक पुगेको थियो। भुटानी खेलाडी छिरिङ वाङग्देनको क्रसमा पूर्णिमा राईले हेडमार्फत गोल गर्ने प्रयास गरे पनि सफल हुन सकिनन्। पहिलो हाफको इन्जुरी समयमा पनि संकटाले अर्को राम्रो मौका गुमायो-सेनुको क्रसमा छिरिङको सट गोलपोस्टको नजिकैबाट बाहिरियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकियो, जुन यस संस्करणको प्रतियोगितामा पहिलोपटक भएको हो।

दोस्रो हाफको ७०औं मिनेटमा पुलिसले खेलमा अग्रता लियो। करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले सटिक हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाइन्। त्यसपछि ८२औं मिनेटमा रेखा पौडेलले संकटाकी कप्तान यशोदा शाहीको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरिन्।

खेलको अन्त्यतिर पुलिसकी फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन्, भने इन्जुरी समयको अन्त्यमा संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट बाहिरियो।

२-० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ।

अब पुलिसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा भिड्ने एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, जबकि उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्ता प्रत्येकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी दिइनेछ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते दुधे रंगशालामै हुनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka