बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौंले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुआतदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपीएफले २९औँ मिनेटमा सविता रानामगरको गोलमार्फत अग्रता लियो । ३८औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् ।
पहिलो हाफको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्जुरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । जससँगै पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो ।
दोस्रो हाफमा पनि एपीएफको आक्रमण रोकिएन । ७१औँ मिनेटमा सविता रानामगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन् । ८४ औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।
सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१औँ मिनेटमा गरेको प्रहार एपीएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् । ८० औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन् ।
खेलकी प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । बुधबार हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौं र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठ टिम त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
