बिर्तामोड । झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ ।
आज भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् ।
खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा रानाले सेन्टर जोनबाट लिएको फ्रिकिक चर्चको गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको सातौँ मिनेटमा पुलिसकी फरवार्ड रेखा पौडेलले ठुलो डिबक्सबाट गरेको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकिले बचाएकी थिइन् ।
१५ औँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । २२ यार्डको दूरीबाट चर्चकी प्रतिक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् ।
१७ औँ मिनेटमा पुलिसकी फरवार्ड मिना देउबाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
२६ औँ मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो । मिनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि सटलाई टार्गेटमा राख्न सकिनन् । ३५ औँ मिनेटमा चर्चले जवाफी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन । पुलिसको पेनाल्टी बक्सभित्र वर्षाले दिएको क्रसलाई प्रतिक्षा मल्लले फिनिस गर्न सकिनन् ।
३७ औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।
दोस्रो हाफको सुरुवाती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१ औँ मिनेटमा मिना देउबाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मिनाले त्यसको फाइदा उठाइन् ।
५९ औँ मिनेटमा मिनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै मिनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मिनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् ।
६८ औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन् । ८० औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् ।
त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए ।
भोलिको दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

