Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा सिस्टर बीके शिवानीको प्रेरणादायी प्रवचन शुक्रबार

Calendar मंगलबार, कार्तिक ११, २०८२  | राती ८:५१ बजे

विराटनगर । विश्वप्रसिद्ध प्रेरणादायी वक्ता तथा ब्रह्माकुमारी संस्थाकी प्रमुख दूत सिस्टर बीके शिवानीले यही शुक्रबार विराटनगरमा प्रवचन गर्ने भएकी छन्।

‘सकारात्मक सोच, शान्त मन र सन्तुलित जीवन’ भन्ने सन्देशसहित विश्वभर लाखौं मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी सिस्टर शिवानी विराटनगरमा हुने कार्यक्रममा सहभागी हुने छिन्।

बिज्ञापन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिएको हो। केन्द्रका प्रतिनिधिहरूका अनुसार प्रवचन कात्तिक १४ गते शुक्रबार दिउँसो ४ः३० बजे विराटनगरस्थित जैन भवनमा सुरु हुनेछ र करिब दुई घण्टा ३० मिनेटसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा करिब अढाई हजारभन्दा बढी उद्योगी, व्यापारी, शिक्षाविद्, सामाजिक अभियन्ता र युवाको उपस्थिति रहने अपेक्षा गरिएको छ।

सिस्टर शिवानीको यो कार्यक्रम विराटनगरको निजी क्षेत्रको पहलमा आयोजना गरिएको हो। मोरङ उद्योग व्यापार संघ विराटनगर, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी विराटनगरले संयुक्त रूपमा कार्यक्रम सञ्चालनका तयारी अघि बढाएका छन्।

कार्यक्रम संयोजनको जिम्मेवारी उद्योगी महेश जाजूले वहन गर्दै छन्। उनले भने, “सिस्टर शिवानीजस्तो व्यक्तित्वको सहरमा आगमन हाम्रो लागि गर्वको विषय हो। समाजमा बढ्दो निराशा र तनावबीच सकारात्मक ऊर्जाको सन्देश दिनु विराटनगरका लागि प्रेरणादायी हुनेछ।”

ब्रह्माकुमारी संस्थाले यसअघि काठमाडौं, पोखरा र बुटवलमा पनि सिस्टर शिवानीका प्रवचन गराइसकेको छ। नेपालमा उनका कार्यक्रमहरू प्रायः ‘मनको शक्ति, आत्म–नियन्त्रण, सम्बन्धमा सामञ्जस्य र आध्यात्मिक नेतृत्व’ जस्ता विषयमा केन्द्रित रहने गरेका छन्।

विश्वका सयौं देशमा प्रवचन दिँदै आएकी सिस्टर शिवानी अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रमकी प्रस्तुतकर्ता पनि हुन्, जसका कार्यक्रम भारतसहित विश्वभरका टेलिभिजन च्यानल र युट्युबमार्फत प्रशारण हुँदै आएका छन्। उनले हालसम्म ५० भन्दा बढी देशमा जीवनशैली, आध्यात्मिकता र मानसिक स्वास्थ्यका विषयमा प्रवचन दिइसकेकी छन्।

उनका अनुसार, “सकारात्मक सोच भनेको समस्या देख्दा डराउने होइन, समाधान खोज्ने दृष्टिकोण हो।” यही सोच फैलाउने अभियानमा उनी पछिल्ला दुई दशकदेखि सक्रिय छिन्। उनका प्रवचनहरूले लाखौं मानिसलाई तनावमुक्त र उद्देश्यपूर्ण जीवन जीउन प्रेरित बनाएको छ।

आयोजकका अनुसार यो कार्यक्रम केवल धार्मिक वा आध्यात्मिक सभा मात्र नभई व्यवहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियान पनि हो। जाजूका शब्दमा, “आजको द्रुत जीवनशैलीले मानिसलाई असन्तुलित बनाइरहेको छ, सिस्टर शिवानीको सन्देशले सोच, बोली र व्यवहारमा सन्तुलन ल्याउनेछ।”

कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ तर स्थान सीमित भएकाले अग्रिम आमन्त्रण कार्ड वितरण सुरु गरिएको आयोजकले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka