






फायल फोटो
सुनसरी । जेन्जी समूहको आन्दोलनका क्रममा सुनसरी जिल्लामा रहेका ३३ वटा सरकारी कार्यालयमा तोडफोड हुँदा करिब १ अर्ब १७ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार क्षतिग्रस्त कार्यालयहरूको विवरण प्रहरीद्वारा संकलित मुचुल्काका आधारमा तयार गरिएको हो। सुनसरीमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा सरकारी सम्पत्तिमा ठूलो नोक्सानी भएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुनसरीमा तीनवटा प्रादेशिक कार्यालयसहित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरिएको थियो। त्यस क्रममा ७३ वटा प्रहरी कार्यालय विस्थापित भएका थिए, जसमध्ये १० वटा प्रहरी कार्यालयमा आगजनी गरी ठूलो क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय इटहरी, पकली र चौकीहरू खनार, हलगडा, बुढिखोला, कालाबञ्जर, चादबेला, एकम्बा लगायतका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा समेत आगो लगाएर क्षति पुर्याइएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, राजश्व अनुसन्धान इकाई कार्यालय, यातायात व्यवस्था कार्यालय, इटहरी उपमहानगरपालिका, कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका लगायतका कार्यालयहरूमा समेत आगजनी गरी भवन तथा सामग्री ध्वस्त पारिएको प्रशासनले जनाएको छ।
क्षतिग्रस्त कार्यालयहरूमध्ये इटहरी उपमहानगरपालिकामा मात्र २५ करोड १० लाख ४५ हजार ४ सय ३ रुपैयाँ बराबरको सरसामान जलेर नष्ट भएको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।