






काठमाडौं । मंगलग्रहमा जीवनको सम्भावनासँग जोडिएका केही नयाँ संकेतहरू फेला परेका छन्। नासाको पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरको ‘ब्राइट एन्जल फर्मेसन’ क्षेत्रमा रासायनिक र खनिज सम्बन्धी संकेतहरू दर्ता गरेको हो, जसलाई वैज्ञानिकहरूले सम्भावित ‘बायोसिग्नेचर’ का रूपमा लिएका छन्।
‘बायोसिग्नेचर’ भन्नाले त्यस्ता भौतिक, रासायनिक वा संरचनात्मक संकेतहरूलाई जनाइन्छ, जसले कुनै समयमा जीवनको गतिविधि भएको संकेत दिन सक्छ। यद्यपि, यो सीधा रूपमा जीवनको प्रमाण होइन। तर यदि यी संकेतहरू प्राचीन सूक्ष्मजीवहरूसँग सम्बन्धित भए पुष्टि भएमा, यो इतिहासकै एक ठूली वैज्ञानिक उपलब्धि बन्न सक्ने अर्थडटकमले जनाएको छ।
ब्राइट एन्जल फर्मेसन क्षेत्र अरबौं वर्षअघि पानी बग्ने क्रममा बनेका मसिनो चट्टानहरूबाट भरिएको छ। यिनै चट्टानहरूमा रोभरले आइरन अक्साइड, फस्फोरस, सल्फर र जैविक कार्बनजस्ता महत्त्वपूर्ण तत्वहरू पत्ता लगाएको छ। जैविक कार्बन जीवनको आधारभूत अवयव हो।
अनुसन्धानमा अनौठा आकृतिहरू पनि देखिएका छन् – साना गोलो कणहरू (जसलाई ‘पोपी सिड्स’ भनिन्छ) र धब्बेदार ढाँचाहरू (जसलाई ‘लेपर्ड स्पोट्स’ भनिन्छ)। यी आकृतिहरू भित्र भिभियानाइट र ग्रेगाइटजस्ता खनिजहरू भेटिएका छन्, जुन पृथ्वीमा पानीयुक्त र चिसो वातावरणमा मात्र बन्ने गर्छन्।
वैज्ञानिकहरूका अनुसार यी खनिज संरचनाहरू दुई तरिकाले बन्न सक्ने छन् -वा अरबौं वर्षअघि अस्तित्वमा रहेका सूक्ष्मजीवहरूको क्रियाकलापका कारण।
विशेष गरी सल्फरमा आधारित यस्ता संरचनाहरू सामान्यतः उच्च तापक्रममा बन्ने भए पनि, ब्राइट एन्जल क्षेत्रमा त्यस्तो उच्च तापक्रमको कुनै प्रमाण भेटिएको छैन। यसले सूक्ष्मजीवहरूको संलग्नतालाई पूर्णरूपमा अस्वीकार गर्न सकिंदैन।
पर्सिवरेन्स रोभरले सेफायर क्यान्यन क्षेत्रमा ड्रिल गरेर कोर स्याम्पल (नमुना) संकलन गरेको छ, जुन अहिले सुरक्षित ट्युबमा राखिएको छ। भविष्यमा यसलाई पृथ्वीमा ल्याई उच्च प्रविधियुक्त प्रयोगशालामा परीक्षण गरिनेछ। त्यहाँ यस नमूनामा रहेको कार्बन आइसोटोप, खनिज संरचना र सम्भावित सूक्ष्म जीवाश्मको अध्ययन गरिनेछ।
अनुसन्धानकर्ताहरूले जनाएअनुसार अरबौं वर्षअघि पृथ्वी र मंगलमा समान रासायनिक प्रक्रिया चलिरहेका थिए। त्यो समय पृथ्वीमा सूक्ष्मजीवहरूले फलाम र सल्फरबाट ऊर्जा लिने गर्थे। तर पृथ्वीको प्लेट टेक्टोनिक्सले पुराना चट्टानहरूमा परिवर्तन ल्यायो, जुन मंगलमा भने सुरक्षित रहेको छ।