Premier Cables
Premier Steel

राजनीति

सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको तयारी, सम्भवतः आजै शपथ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं ।‌ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

शपथ ग्रहणसमेत शुक्रबार नै हुने शीतल निवास स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

राष्ट्रपति पौडेलले बिहीबार दिनभर र राति अबेरसम्म राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरूसँग परामर्श गरेका थिए। सो क्रममा उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, र अन्य दलका नेतासँग छलफल गरेका हुन्।

उच्च स्रोतका अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार दिउँसो निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संयुक्त भेट गरेका थिए। सो भेटमा कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने तयारीबारे जानकारी दिइएको थियो।

ओलीले संवैधानिक प्रक्रिया पूरा गरिएको हो भनेर सोध्दा राष्ट्रपति पौडेलले सबैसँग परामर्श भइसकेको र संविधानकै बाटोबाट अघि बढेको बताए। ओलीले त्यसपछि “त्यसो भए ठीकै छ” भनेर प्रतिक्रिया दिएका थिए।

राष्ट्रपतिले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरी सहमति मागेका थिए। देउवाले “संविधान अनुसार गर्नुस्, मेरो सहमति छ” भनेका थिए।

यसैगरी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग शीतल निवासमै भेट गरी राष्ट्रपतिले परामर्श गरेका थिए।

राष्ट्रपतिले नेताहरूलाई ‘आजभित्रै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दबाब छ, यो थप ढिला गर्न सकिने अवस्था छैन’ भनेका थिए। त्यसपछि छलफलहरूको सिलसिला सुरु भएको हो।

संविधानविदहरूसँगको परामर्श

राष्ट्रपतिले बिहीबार अपराह्न संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई शीतल निवासमा बोलाएर परामर्श गरेका थिए। संविधानविदहरूले नियुक्ति संविधान र संसदभित्रैबाट हुनुपर्ने सुझाव दिए पनि राष्ट्रपति पौडेलले तत्कालीन राजनीतिक र सुरक्षा अवस्थाका कारण त्यो सम्भव नभएको बताए।

राष्ट्रपतिका अनुसार, संविधान संशोधन गर्न संसद बोलाउनु पर्ने, तर हाल संसद बस्न नसक्ने सुरक्षा चुनौती र समय अभाव रहेकोले वैकल्पिक बाटो खोजिएको हो।

संविधानविदहरूले संकटको घडीमा राष्ट्रपति, संविधानको संरक्षक र पालकका रूपमा, संविधानको धारा ६१(४) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्न सक्ने सुझाव दिएका थिए। नियुक्तिमा कुनै विशेष धारा उल्लेख नगरी, राष्ट्रपति संविधानको संरक्षकका हैसियतले निर्णय लिएको उल्लेख हुने बताएका छन्।

कार्कीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने कि २०७० मा खिलराज रेग्मीलाई जस्तै अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। तर, अन्ततः “प्रधानमन्त्री” पद नै उपयुक्त ठहर गर्दै सोही अनुसार नियुक्त गरिने निर्णयमा राष्ट्रपतिको सहमति बनाइएको हो।

नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचनको तयारी, हालैको आन्दोलनमा भएको दमन र युवाहरूको मृत्युको छानबिन गर्ने, र त्यसपछि उत्पन्न अवस्थाको समाधान गर्ने हुनेछ। उनले संसद विघटन तथा चुनावको मिति सिफारिस गर्ने अधिकार पनि पाउनेछन्।

प्रधानमन्त्री बन्ने तयारीमा रहेकी सुशीला कार्कीले बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग शीतल निवासमा भेट गरिन्। मध्यरातसम्म उनीहरूबीच छलफल चलेको थियो। स्रोतका अनुसार, कार्कीले कुनै पनि राजनीतिक दलका नेताहरूसँग भेटघाट नगर्ने स्पष्ट सन्देश दिएकी छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka