






विराटनगर । नेपालकै प्रमुख राजनीतिक नर्सरी मानिने विराटनगरले फेरि एकपटक गर्व गर्ने अवसर पाएको छ ।
शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा सुशीला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै विराटनगरले आफ्नो छैटौँ प्रधानमन्त्री पाएको हो । उनी मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
सुशीला कार्की यसअघि नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा चर्चित थिइन् । न्याय क्षेत्रमा दृढ र इमानदार नेतृत्व प्रस्तुत गरेकी कार्की अब कार्यकारी नेतृत्वमा प्रवेश गरेकी छन् । उनको यो पदारोहणले विराटनगरको राजनीतिक धरोहरमा नयाँ इतिहास थपेको छ ।
विराटनगर लामो समयदेखि नेपालका राष्ट्रिय नेताहरूको जन्मथलो र राजनीतिक यात्राको आधारभूमि रहँदै आएको छ । नेपालको राजनीतिक आन्दोलन, पार्टी निर्माणदेखि लिएर लोकतन्त्र स्थापनासम्म विराटनगरको योगदान उल्लेखनीय मानिन्छ ।
विराटनगरबाट प्रधानमन्त्रीहरूको यात्रा
बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा २०१६ सालमा कार्यभार सम्हालेका बीपी कोइराला विराटनगरकै सुपुत्र थिए । उनी नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए र जनताले प्रत्यक्ष निर्वाचनमार्फत चुनिएको पहिलो प्रधानमन्त्री बन्न सफल भए ।
मातृका प्रसाद कोइराला – बीपीका दाजु मातृका प्रसाद कोइराला पनि दुई पटक प्रधानमन्त्री बने । उनले कांग्रेस र देशको राजनीतिक यात्रामा विशेष भूमिका खेले ।
गिरिजा प्रसाद कोइराला – बीपीका कान्छा भाइ गिरिजा प्रसाद कोइराला बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चार पटकसम्म प्रधानमन्त्री बने । उनी नेपाली राजनीतिमा “जीपी” भनेर चिनिने प्रमुख हस्ती थिए ।
मनमोहन अधिकारी – नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीले पनि मुलुकलाई विराटनगरको नाममा गर्व गर्ने बनाइदिए । उनको छोटो कार्यकाल भए पनि जनतामुखी योजनाका कारण उनी लोकप्रिय भए ।
नगेन्द्र रिजाल – पञ्चायती शासनकालमा प्रधानमन्त्री बनेका नगेन्द्र रिजाल पनि विराटनगरकै थिए ।
सुशीला कार्की – अहिले प्रधानमन्त्री बनेकी कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहासमा नाम लेखाउन सफल भएकी छन् ।