Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री भेट्न पुगेका जेनजी त्यसै फर्काइए

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर दिएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरू सोमबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे।

बिहान ११ बजेतिर प्रधानमन्त्री कार्यालय पुगेका उनीहरूलाई ‘प्रधानमन्त्री व्यस्त छन्’ भन्दै छुट्टै कोठामा बसालियो। त्यसपछि प्रधानमन्त्री सचिवालयका कर्मचारीले ‘पहिले हामीसँग छलफल गरौँ, अनि मात्र भेटको व्यवस्था गरौँला’ भन्दै कुराइमा राखे। तर कुरदाकुरदै साँझ ४ बज्दा पनि उनीहरूलाई भेटको पालो मिलेन।

बिज्ञापन

प्रधानमन्त्री कार्यकक्ष छाडिसकेको सूचना पाएपछि युवाहरू आक्रोशित भए। प्रधानमन्त्रीलाई भेट्न बोलाएर अन्त्यमा नभेटाएको भन्दै उनीहरूले प्रेस संयोजक राम रावलसँग नै रोष प्रकट गरे।

जेनजी आन्दोलनकै आधारमा बनेको सरकार भएको दाबी गर्दै उनीहरूले ‘जेनजीलाई नै प्रधानमन्त्रीले भेट्न नचाहेको’ आरोप लगाए। भिडियोमा देखिएका एक युवकले भने, “जेनजीको माग र मर्म बुझ्न नसक्ने प्रधानमन्त्रीले के काम गर्छ? यस्तो प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।”

अर्का युवकले थपे, “हाम्रो रगत र बलिदानबाट बनेको सरकारले हामीलाई भेट्नै नदिने? कस्तो सरकार हो यो?”

तनाव बढ्दै जाँदा प्रेस संयोजक रावलले स्थिति नियन्त्रणमा ल्याउन प्रयास गरे। तर अवस्था झन् चर्किएपछि सुरक्षा निकायले प्रहरी बोलाउनुपर्यो।

को–को पुगेका थिए?

जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले गरेको विवादास्पद नियुक्तिबारे कुरा गर्न सुदन गुरुङ समूहका युवाहरू उपस्थित थिए। मिराज ढुंगाना र कर्णाली जेनजी समूहको तर्फबाट सुप्रिया राज्यलक्ष्मी शाही पनि सहभागी थिइन्।

रविकिरण हमाल समूहबाट विजय शाह, टेकेन्द्र जोशी, अजय सोडारीलगायत युवाहरू आए। रविकिरणलाई भने सिंहदरबारको मुख्य गेटमै रोकिएको थियो।

युवा सोम शर्मा अनुसार करिब ५० जनाजति सिंहदरबार पुगेका थिए। सचिवालयले ‘सबैलाई भेट्नु सम्भव छैन’ भन्दै ८–१० जनाको प्रतिनिधि छनोट गर्न भनेको थियो। तर प्रतिनिधि छानेपछि पनि भेट नदिएको उनीहरूको आरोप छ।

सुप्रिया शाहीका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले ‘पहिले अर्को कोठामा बसेर छलफल गरौँ, त्यसपछि प्रधानमन्त्रीकहाँ लैजाउँछौँ’ भनेका थिए। तर त्यही बेला प्रधानमन्त्रीलाई कार्यकक्षबाट निकालिएको दाबी उनले गरिन्।

“हामीलाई बिहान १० बजेदेखि ४ बजेसम्म कुराइयो। तर अन्त्यमा बेवास्ता गरियो,” शाहीले भनिन्।

उनका अनुसार उनीहरू प्रधानमन्त्रीलाई तीन मागसहित ज्ञापनपत्र बुझाउन आएका थिए—

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्छ।

उनले पारिवारिक सदस्यलाई गरेको नियुक्ति खारेज गर्नुपर्छ।

महान्यायाधिवक्ता सबिता भण्डारीलाई पदमुक्त गरी छानबिन गर्नुपर्छ।

प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले आदर्श श्रेष्ठले गरेको नियुक्तिबारे सार्वजनिक भएको सूचना ‘पूर्ण सत्य होइन’ बताए। जेनजीका केही माग भने ‘वाजिब’ रहेको स्वीकार गर्दै उनले विषय छलफलमा रहेको जानकारी दिए।

प्रेस संयोजक रावलले प्रधानमन्त्रीको अत्यधिक व्यस्तताका कारण भेट मिलाउन नसकिएको दाबी गरे। “हामी निस्किने बेला भइसकेको थियो, सबैलाई भेट्न सकिएन,” उनले भने। केही प्रतिनिधिलाई आज बोलाइएको पनि उनले बताए।

कर्णाली जेनजीकी सुप्रिया शाहीले भने आज पनि सिंहदरबार जाने बताउँदै चेतावनी दिइन्—
“आज पनि चार बजे जान्छौं। आज पनि भेट्न नदिए धर्नामा बस्छौं।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka