






काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १८.०२ अंकले घटेर २ हजार ७३९.९५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६४ प्रतिशतले बढेर ४७१.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार अघिल्लो कारोबार दिनको तुलनामा भने बढी हो । गत बिहिबार ५ अर्ब २ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘पछिल्लो समय लगातार बजार घटेका कारण सेयर कर्जाको २५ करोडको सीमा हटाउनु पर्ने आवश्यक देखिएको छ । लगानीकर्ता निष्क्रीय भएका कारण बजारमा आक्रामक सेयर खरिद हुन सकेको छैन ।’
भोल्युम पनि घट्दै गएका कारण भने बजार छिट्टै सम्हालिन सक्ने विश्वास उनले व्यक्त गरे ।
अर्का बजार जानकार नीमानन्द कंडेलले ३ हजारको विन्दुमा बजार प्रवेश गरेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका कारण बजारमा बिक्री दबाब देखिएको बताए । ‘यतिबेला बजारबाटै गुजारा चलाउनेले बिक्री दबाब दिईरहेका छन् । जसका कारण लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।’
उनले बजारमा दशैंअघि बाउन्स ब्याक हुने सेन्टिमेन्ट व्याप्त रहेको समेत दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.०४ प्रतिशतले बढ्यो ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात १.६७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८० प्रतिशत, फाइनान्स ०.६१, होटल ०.४३, हाईड्रो १.०८, लगानी ०.७३, जीवन बीमा ०.४४, लघुवित्त ०.१७, म्युचुअल फण्ड ०.०६, निर्जीवन बीमा ०.६२, अन्य ०.०२ र व्यापार समूह ०.३१ प्रतिशतले बढ्यो ।