काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाएको सरकारले निष्कर्ष निकालेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकारले सार्वजनिक गरेको धारणा अनुसार पछिल्लो समय उतारचढावबाट गुज्रिएको दुई देशबीचको सम्बन्ध पुनः सकारात्मक लयमा फर्किएको हो।
सरकारले प्रधानमन्त्री शाहको भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने र आपसी सहयोग विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, हवाई सम्पर्क र लगानीलगायत विषयमा छलफल भएको थियो।
त्यसक्रममा दुवै देशबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। शिक्षा तथा अनुसन्धान, सुरक्षा, कर्मचारीको क्षमता विकास, आयुर्वेद, स्वास्थ्य, स्याटेलाइट सञ्चार, सहरी विकास तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
त्यस्तै, भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको छ। यसमध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउने उल्लेख छ।
भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने, नेपालका लागि थप पारवहन सुविधा उपलब्ध गराउने तथा ऊर्जा र रेलमार्गसम्बन्धी परियोजनालाई अघि बढाउने सहमति पनि भएको छ।
सरकारले यी सहमतिले नेपालको आर्थिक विकास, पूर्वाधार विस्तार र क्षेत्रीय सम्पर्क सञ्जाललाई थप बलियो बनाउने अपेक्षा गरेको छ।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमण सोमबार सम्पन्न भएको छ। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गरेका थिए।
सरकारका अनुसार भ्रमणले दुई देशबीचको परम्परागत मित्रता, आपसी विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्याउन आधार तयार गरेको छ।
