






विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीच गठबन्धन भई चुनावमा जाँदा महिला सहभागिता घट्न पुगेको बताएकी छिन् ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भण्डारीले गठबन्धनका कारण फरक दलले पुरुषहरुलाई उमेदवार बनाउँदा महिला सहभागिता कम हुन पुगेको बताइन ।
संविधानले नै महिला अधिकार सुनिश्चित गरेको भएपनि दलहरुबीचको चुनावी तालमेलका कारण पुरुष उमेदवारमात्र बनाउने गरिएको चर्चा गरिन । उनले महिला सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिइन ।
महिलाले जितेका धेरै स्थानीय तहमा धेरै राम्रो विकास भएको तर्क गर्दै भण्डारीले स्थानीय जनप्रतिनिधिले जनताको वितृष्णा चिर्न गतिशील भए काम गर्नुपर्ने सुझाव दिइन ।
सम्मेलनमा स्थानीय तहमा देखिएका समस्या र उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिकाको विषयमा विभिन्न कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलन भोलिसम्म चल्ने छ ।