काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ।
भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।
समझदारीअनुसार फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा दुवै देशले सहकार्य गर्नेछन्।
गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणसम्बन्धी समझदारी भएको छ।
यसैगरी, भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूलाई तालिम दिने विषयमा सहमति भएको छ। आयुर्वेद तथा परम्परागत उपचार पद्धतिको विकास र अनुसन्धानमा पनि दुवै देशले सहकार्य गर्नेछन्।
स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।
त्यस्तै, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा सेवा र पशुपालन एवं मत्स्यपालन क्षेत्रको विकासका लागि पनि नेपाल र भारतबीच सहकार्य गर्ने सहमति भएको छ।
