काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसक्दा पनि नेपाल र भारतबीच नयाँ हवाई रुट सञ्चालन गर्ने विषयमा सहमति जुट्न सकेको छैन। हवाई रुटका विषयमा दुवै देशका प्रतिनिधिबीच वार्ता सकारात्मक दिशामा अघि बढे पनि सहमतिपत्रको भाषामा कुरा मिल्न नसकेको नेपाली वार्ता टोलीले जनाएको छ।
नेपाललाई नयाँ हवाई रुट उपलब्ध गराउन लगभग सहमत देखिएको भारतले पछिल्लो चरणमा बागडोगरा विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेको थियो। नेपाली पक्षले प्राविधिक अध्ययनपछि भारतीय यात्रुवाहक तथा कार्गो विमानका लागि उक्त हवाई क्षेत्र उपलब्ध गराउन सकिने जनाएको छ।
तर, भारतीय पक्षले सुरुवाती वार्तामा आफ्नो सेनाले समेत उक्त हवाई क्षेत्र प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव गरेको थियो। त्यसमा नेपालले असहमति जनाउँदै सैन्य प्रयोजनका लागि अनुमति दिन नसकिने तर यात्रुवाहक र कार्गो विमानका लागि भने सहकार्य गर्न सकिने स्पष्ट पारेको थियो।
सहमतिपत्रमा प्रयोग हुने भाषालाई लिएर अहिले दुई पक्षबीच मतभेद देखिएको छ। भारतले बागडोगरा विमानस्थलका लागि नेपालले हवाई क्षेत्र उपलब्ध गराउन सहमति जनाएको उल्लेख गर्नुपर्ने अडान राखेको छ। नेपालले भने प्राविधिक अध्ययनपछि हवाई क्षेत्र उपलब्ध गराउन तयार रहेको भाषा प्रयोग गर्नुपर्ने बताएको छ।
वार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार भारतले नेपालको प्रस्तावमा सैन्य प्रयोगबाहेक नागरिक उड्डयनका लागि हवाई क्षेत्र उपलब्ध गराउने विषयमा सहमति जनाएको छ। प्राविधिक अध्ययनपछि हवाई क्षेत्र दिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गरेमा भारतलाई विश्वासमा लिन सकिने नेपाली पक्षको बुझाइ छ।
यसैबीच, नेपालले धनगढी, जनकपुर र भैरहवा हुँदै बाहिरिने हवाई मार्गलाई दुवै दिशाबाट प्रयोग गर्न मिल्ने गरी द्विपक्षीय रुट बनाउन प्रस्ताव गरेको छ। त्यसका लागि बागडोगरा विमानस्थलतर्फ नेपालको केही हवाई क्षेत्र उपलब्ध गराएर तीनवटै रुटलाई दोहोरो बनाउने नेपालको तयारी छ।
नयाँ हवाई रुट सञ्चालनमा आए नेपाल आउने अन्तर्राष्ट्रिय विमानको उडान समय घट्ने अपेक्षा गरिएको छ। उडान दूरी र समय कम हुँदा इन्धन खर्च घट्नुका साथै हवाई भाडामा समेत केही राहत पुग्न सक्नेछ। त्यस्तै, सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गर्ने विमानले लामो समयसम्म आकाशमै होल्ड गर्नुपर्ने समस्या पनि कम हुने विश्वास गरिएको छ।
हाल भारत हुँदै नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय विमान सिमरा क्षेत्रबाट मात्रै नेपाली आकाशमा प्रवेश गर्छन्। नेपालले नयाँ हवाई रुटका लागि भारतसँग झण्डै १५ वर्षदेखि पहल गर्दै आएको छ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। उक्त भेटवार्तामा हवाई रुटसहित दुई देशबीचका विभिन्न द्विपक्षीय तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
