Premier Cables
Premier Steel

विराटनगर

पिजफायर सञ्चालकको मृत्यु प्रकरण: महिला कर्मचारी ६० हजार धरौटीमा रिहा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०४, २०८३  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेकी महिला कर्मचारी ६० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। मोरङ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छाड्ने आदेश दिएको हो।

बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश रामचन्द्र खड्काको इजलासले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा भएको थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो। अदालतले आरोपित महिलालाई ६० हजार रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत बुझाउन भनेको छ।

विज्ञापन

अदालतको आदेशमा खत्रीको मृत्यु झुन्डिएर भएको पोस्टमार्टम रिपोर्टलाई आधार मानिएको छ। घाँटीमा दबाब परी मृत्यु भएको देखिएको उल्लेख गर्दै विषादी तथा अल्कोहल सेवनको सम्भावना परीक्षणका लागि भिसेरा सुरक्षित राखिएको विवरणसमेत आदेशमा समेटिएको छ।

काठमाडौंका ५१ वर्षीय खत्रीले विराटनगरको पिपलचोक गोल्छामोडमा आठ वर्षदेखि पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। गत मंसिर ७ गते दसैँको पूर्णिमाका दिन उनी रेस्टुरेन्टबाट स्कुटर लिएर निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसको भोलिपल्ट मोरङको केराबारी गाउँपालिका–३ स्थित जंगलमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।

घटनापछि खत्रीका भाइले रेस्टुरेन्टमा कार्यरत महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए। प्रहरीले शव फेला परेको दिन नै उनलाई पक्राउ गरी भोलिपल्ट आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

मृतकका परिवारले ती कर्मचारीमाथि खत्रीलाई मानसिक यातना दिएको, व्यक्तिगत सम्बन्धका कारण तनाव सिर्जना गरेको तथा रेस्टुरेन्टको आर्थिक कारोबारमा हिनामिना गरेको आरोप लगाएका थिए। कर्मचारीकै व्यवहारका कारण खत्री मानसिक तनावमा परेर आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी थियो। तर आरोपित कर्मचारीले भने मानसिक यातना, आर्थिक हिनामिना र ब्ल्याकमेलिङ गरेको आरोप अस्वीकार गर्दै आएकी छन्।

प्रहरी अनुसन्धानका क्रममा खत्री र पिजफायरको गोल्छामोड शाखामा क्यासियरका रूपमा कार्यरत ती कर्मचारीबीच व्यक्तिगत सम्बन्ध रहेको तथा रेस्टुरेन्टको आर्थिक कारोबारलाई लिएर विवाद भएको आशंका गरिएको थियो। यही विवाद बढ्दै जाँदा खत्रीले आत्महत्या गरेको हुन सक्ने कोणबाट प्रहरीले अनुसन्धान गरेको थियो। प्रहरीले मोबाइल फोनलगायत डिजिटल विवरणसमेत परीक्षण गरेको थियो।

तर अनुसन्धानका क्रममा मेसेन्जरमा पिज्जा अर्डरसम्बन्धी सन्देश र सञ्चालकसँग भएका सामान्य कुराकानीबाहेक आरोप पुष्टि गर्ने ठोस प्रमाण फेला पार्न नसकेको विवरण सार्वजनिक भएको छ। रेस्टुरेन्टको आर्थिक कारोबारमा हिनामिना भएको पुष्टि गर्ने आधारसमेत तत्काल प्राप्त हुन नसकेको उल्लेख गरिएको छ।

खत्रीले विदेशमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र कामको अनुभव हासिल गरेका थिए। जर्मनी र दुबईका तारे होटलमा बेकरी सेफका रूपमा काम गरेर आर्जन गरेको रकमबाट उनले विराटनगरमा पिचफायर रेस्टुरेन्ट स्थापना गरेका थिए। अन्तर्राष्ट्रिय स्तरको पिज्जा हब बनाउने लक्ष्यसहित सुरु गरिएको व्यवसाय विस्तार गर्दै उनले काठमाडौं, विराटचोक र विराटनगरको गोल्छा चोकमा शाखा सञ्चालन गरेका थिए। घाटा भएपछि काठमाडौंस्थित शाखा भने बन्द गरिएको थियो।

पिपलचोकस्थित रेस्टुरेन्टकै फ्ल्याटमा बसेर व्यवसाय सञ्चालन गर्दै आएका खत्रीले लाखौँको लगानीबाट सुरु गरेको व्यवसायलाई केही वर्षमै करोडौँको बनाएका थिए। विराटनगरका दुई शाखामा मात्रै करिब ६० जनाले रोजगारी पाएका थिए। कर्मचारीका अनुसार खत्रीको बैंक तथा अन्य व्यक्तिसँग ऋण थिएन भने रेस्टुरेन्टको अधिकांश आर्थिक कारोबार नगदमा हुने गरेको थियो।

खत्रीको मृत्युपछि परिवारले पिपलचोकस्थित रेस्टुरेन्ट पछाडिको डेरामा १३ दिनसम्म काजकिरिया गरेको थियो। किटानी जाहेरी दिने भाइसहित परिवारका सदस्य एकपटक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीसमेत पुगेका थिए। तर अदालतमा मुद्दा दायर भएपछि भएको थुनछेक बहसका क्रममा भने परिवारका सदस्य उपस्थित भएनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka