काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलाबाट पारित आगामी कार्यभार र संकल्पलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय भेलापछि काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदित दुई मुख्य कार्यभार तथा १५ वटा कामलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हो। ती कार्यभार कार्यान्वयनको जिम्मेवारी केन्द्रीय कमिटीका सदस्यहरूलाई दिइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
बैठकले आगामी मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते निर्धारित पालिका तहको अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ।
सचिव बस्नेतका अनुसार दुवै तहका अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्न पार्टीले प्राथमिकता दिनेछ। तर, सहमति कायम हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे।
बैठकले पार्टी पङ्क्तिलाई सम्भावित आन्दोलनका लागि समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ। पार्टीले जुनसुकै समयमा आन्दोलनको घोषणा गर्न सक्ने भएकाले त्यसअनुसार सम्पूर्ण नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयार रहन भनिएको बस्नेतले बताए।
एमालेले राष्ट्रिय भेलाबाट तय गरेका राजनीतिक तथा सांगठनिक कार्यभार कार्यान्वयनसँगै तल्लो तहसम्मको संगठनात्मक गतिविधिलाई तीव्रता दिने रणनीति अघि सारेको देखिन्छ।
