Premier Cables
Premier Steel

समाचार

विराटनगर महानगर अब डिजिटल: सूचना, सेवा र गुनासो एउटै एपबाट

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | साँझ ५:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । महानगरका सूचना, सेवा, गुनासो र सेवा मूल्यांकनसम्बन्धी सुविधा एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्यसहित ‘विराटनगर मेट्रोपोलिटन सिटी’ नामक एप सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, महानगरका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नम्बर १२ का अध्यक्ष हीरालाल कामत, वडा नम्बर १३ का अध्यक्ष तथा सुशासन समितिका संयोजक सूर्यलाल यादव, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमलगायतको उपस्थितिमा बिहीबार महानगर प्रमुख नागेश कोइरालाले उक्त एप सार्वजनिक गरेका हुन् ।

एप सार्वजनिक गर्दै महानगर प्रमुख कोइरालाले प्रविधिको बढ्दो प्रयोगलाई प्राथमिकतामा राखेर महानगरका सेवा प्रवाहलाई डिजिटल प्रणालीसँग जोडिएको बताए । नागरिकले सूचना लिन, सेवा प्राप्त गर्न र गुनासो दर्ता गर्न विभिन्न शाखा तथा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले एप ल्याइएको उनको भनाइ छ । ‘सूचना, सेवा, गुनासो, सेवा मूल्यांकन सबै नागरिकको हातमा एउटै एपमा भन्ने उद्देश्यका साथ एप सार्वजनिक गरिएको मेयर कोइरालाले बताए ।

विज्ञापन

उनले बढ्दो प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर महानगरले सेवा प्रवाहलाई सूचना तथा प्रविधिसँग जोड्दै गइरहेको जानकारी दिए । महानगरका सेवाहरु घरबाटै लिन सक्ने गरी आगामी दिनमा एपलाई अझै परिस्कृत बनाउँदै लगिने मेयर कोइरालाको भनाइ थियो । उनका अनुसार प्रविधिको प्रयोग विस्तारसँगै सार्वजनिक सेवालाई छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने महानगरको योजना छ ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार एप सञ्चालनमा आएसँगै नागरिकले जुनसुकै समय र स्थानबाट महानगरका सेवाबारे जानकारी तथा आवश्यक सूचना प्राप्त गर्न सक्नेछन् । महानगरबाट उपलब्ध हुने सेवाको प्रक्रिया, लाग्ने समय, दस्तुर, जिम्मेवार कर्मचारी, आवश्यक कागजात र सम्पर्क नम्बरसम्बन्धी विवरण एपमै राखिएकाले एउटै कामका लागि पटक–पटक कार्यालय पुग्नुपर्ने समस्या कम हुने उनको भनाइ थियो ।

एपमा महानगरपालिकाको नागरिक बडापत्र, १९ वटै वडाका जनप्रतिनिधिको नाम र सम्पर्क नम्बर, वडा कार्यालयका ठेगाना, महानगर क्षेत्रका पर्यटकीय स्थलको विवरण, सरसफाइ तालिका तथा आपत्कालीन सम्पर्क नम्बर समेटिएका छन् । यसका साथै महानगरले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी जानकारी पनि एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, महानगरसँग सम्बन्धित ऐन, कानुन, सूचना तथा समाचार, जनप्रतिनिधि र कर्मचारीको विवरणसमेत एपमा उपलब्ध छन् । नागरिकले महानगरका कामकारबाहीसँग सम्बन्धित गुनासो, उजुरी, सुझाव तथा समस्या पनि एपबाटै दर्ता गर्न सक्ने सूचना तथा सञ्चार प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिइन् ।

कर्णका अनुसार एन्ड्रोइड मोबाइलको प्ले स्टोर वा एप्पलको एप स्टोरबाट ‘विराटनगर मेट्रोपोलिटन सिटी’ नामक एप डाउनलोड गरी स्थापना गरेपछि उपलब्ध सेवा तथा सूचनाको उपयोग गर्न सकिनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka