विराटनगर । मोरङमा अब रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू मापदण्ड पूरा गरेर राती २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यससम्बन्धी नयाँ मापदण्ड स्वीकृत गरेसँगै यो व्यवस्था लागू हुन लागेको हो।
यसअघि गत कात्तिक १४ गते स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साविक १२ बजेसम्म खुल्ने होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब, लाउन्ज, डान्सबार र डिस्कोहरूलाई राती १० बजे नै बन्द गर्नुपर्ने निर्णय गरेको थियो।
१० बजे बन्द गर्ने निर्णयसँगै रात्रीकालीन व्यवसाय सञ्चालनका लागि एक महिनाभित्र मापदण्ड तयार पार्न सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको संयोजकत्वमा एक समिति गठन गरिएको थियो।
सो समितिले तयार पारेको कार्यविधिमा आवश्यक परिमार्जन गरेपछि जिल्ला सुरक्षा समितिले यसलाई औपचारिक रूपमा स्वीकृत गरेको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक कोइरालाका अनुसार तोकिएको सुरक्षा र कानुनी मापदण्ड भित्र पर्ने होटल, रेस्टुरेन्ट तथा अन्य रात्रीकालीन व्यवसायहरूले अब राती २ बजेसम्म सेवा दिन पाउनेछन्।
