खाँदबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खुवासभामा निर्माण हुने विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको निर्माण क्षेत्रको अनुगमन गरेका छन्।
मुख्यमन्त्री कार्कीले खाँदबारी नगरपालिका–९ स्थित विश्वविद्यालयका लागि छुट्याइएको जग्गाको स्थलगत अवलोकन गर्दै निर्माण तथा सञ्चालनका विषयमा चासो व्यक्त गरेका हुन्।
अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति तथा छलफलसमेत गरिएको थियो।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको यस विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिने बताए। उनले विश्वविद्यालयलाई छिटो सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए।
विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी कुल ४१६ रोपनी जग्गा उपलब्ध गराइएको छ। उक्त जग्गामा यसै वर्षदेखि भौतिक संरचना निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ।
विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले आयोजना अघि बढाउन बृहत् गुरुयोजना निर्माण भइसकेको जानकारी दिए।
नेपाल सरकारको लगानीमा स्थापना भएको यो केन्द्रीय विश्वविद्यालयले आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकता दिनेछ।
समाज सुधारक तथा महिला अधिकारकी अग्रणी अभियन्ता योगमाया न्यौपानेको सम्मानमा विश्वविद्यालयको नामकरण गरिएको हो। भोजपुरमा जन्मिएकी योगमायाले तत्कालीन राणा शासनका समयमा सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध आवाज उठाएकी थिइन्।
विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०/७१ देखि अघि बढाइएको थियो। आर्थिक वर्ष २०७३/७४ को सरकारी नीति तथा कार्यक्रममा समेत यसलाई समावेश गरिएको थियो। २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन जारी भएपछि यसले कानुनी आधार प्राप्त गरेको हो।
हाल नाम परिवर्तन गरी विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय कायम गरिएको छ। यसको केन्द्रीय कार्यालय खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले विश्वविद्यालय नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने राष्ट्रिय महत्त्वको शैक्षिक संस्था भएको बताए।
