काठमाडौं । अमेरिकामा आज मध्यावधि निर्वाचनका लागि मतदान हुँदै छ । मतदानको समय राज्यअनुसार फरक हुनेछ । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।
राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा संसद्का सदस्यसँगै केही राज्यका गभर्नर पनि निर्वाचित हुनेछन् । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । तर, कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्पलाई आफ्ना नीतिअनुसारका विधेयक पारित गराउन कठिन हुनेछ ।
अमेरिकी संसद्का दुई सदनमा बहुमतका लागि आवश्यक सिट संख्या फरक छ । सिनेटमा कुल १०० सिट छन् । हाल रिपब्लिकन पार्टीसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् । दुईजना स्वतन्त्र सिनेटरले डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्दै आएका छन् ।
सामान्य अवस्थामा सिनेटमा बहुमतका लागि ५१ मत आवश्यक पर्छ । तर, दुवै दलसँग ५०–५० सिट भए उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्छन् ।
यसपटक सिनेटका ३५ सिटमा निर्वाचन हुँदै छ । तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्रेटिक पार्टीको नियन्त्रणमा छन् । सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ लिनुपर्नेछ ।
त्यस्तै, हाउस अफ रिप्रिजेन्टेटिभ्समा कुल ४३५ सिट छन् । बहुमतका लागि कम्तीमा २१८ सिट आवश्यक पर्छ । यसपटक सबै सिटमा निर्वाचन हुँदै छ । २१८ वा सोभन्दा बढी सिट जित्ने दलले तल्लो सदनमा बहुमत कायम गर्नेछ ।
रिपब्लिकन पार्टीको मुख्य लक्ष्य दुवै सदनमा आफ्नो बहुमत जोगाउनु हो भने डेमोक्रेटहरू दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छन् ।
यस निर्वाचनमा इरान युद्ध, महँगी, आप्रवासन नीति, भन्सार महसुल, रोजगारी, गर्भपतनको अधिकार र स्वास्थ्य उपचारको खर्च प्रमुख चुनावी मुद्दा बनेका छन् ।
इरान युद्धपछि अमेरिकामा डिजेलको मूल्य ७० प्रतिशत र पेट्रोलको मूल्य ५० प्रतिशतसम्म बढेको दाबी गरिएको छ । यससँगै राष्ट्रपति ट्रम्पको अनुमोदन दर घटेर ३१ प्रतिशतमा पुगेको बताइएको छ । इन्धनको मूल्यवृद्धि रिपब्लिकन पार्टीका लागि चुनावी चुनौती बनेको छ । रुसबाट तीन लाख मेट्रिकटनभन्दा बढी डिजेल खरिद गर्ने निर्णयलाई लिएर पनि ट्रम्पको आलोचना भइरहेको छ ।
ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण र देश निकाला अभियानलाई प्राथमिकता दिएको छ । दोस्रो कार्यकालको पहिलो १८ महिनामा करिब नौ लाख ८० हजार मानिसलाई देश निकाला गरिएको छ । मेक्सिकोसँगको सीमामा अवैध प्रवेश ९५ प्रतिशतले घटेको दाबी गरिएको छ ।
तर, धरपकडका क्रममा आपराधिक अभिलेख नभएका व्यक्तिलाई समेत देश निकाला गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । डेमोक्रेटहरूको आरोपमा यस नीतिका कारण परिवारहरू छुट्टिने अवस्था सिर्जना भएको छ भने कृषि र निर्माणजस्ता क्षेत्रमा श्रमिक अभाव हुन सक्छ ।
ट्रम्पले भन्सार महसुल अर्थात् ट्यारिफमार्फत अमेरिकी कम्पनी र रोजगारीलाई फाइदा पुर्याउने प्रतिबद्धता जनाएका थिए । तर, ट्यारिफका कारण गाडी, इलेक्ट्रोनिक्स, कपडा र निर्माण सामग्रीको मूल्य १२ देखि १८ प्रतिशतसम्म बढेको दाबी गरिएको छ । यसले अमेरिकी परिवारको खर्च बढाउनुका साथै अन्य देशले लगाएका प्रतिशोधात्मक महसुलका कारण अमेरिकी किसानको भटमास र मकैको व्यापारमा समेत असर परेको छ ।
गर्भपतनको अधिकार र स्वास्थ्य उपचारको खर्च पनि निर्वाचनका महत्वपूर्ण मुद्दा बनेका छन् । केएफएफको सर्वेक्षणअनुसार ६८ प्रतिशत महिला मतदाता र १८ देखि २९ वर्ष उमेर समूहका ७४ प्रतिशत युवाका लागि गर्भपतनको अधिकार महत्वपूर्ण चुनावी विषय बनेको छ ।
डेमोक्रेटहरू महिलालाई देशभर गर्भपतनको कानुनी अधिकार सुनिश्चित गर्न चाहन्छन् भने रिपब्लिकनहरू यससम्बन्धी निर्णय गर्ने अधिकार राज्यहरूलाई दिनुपर्ने पक्षमा छन् ।
त्यस्तै, ओबामाकेयरअन्तर्गत करिब दुई करोड १३ लाख मानिसले स्वास्थ्य बिमा सुविधा लिइरहेका छन् । सरकारी अनुदान घट्दा स्वास्थ्य बिमाको खर्च बढ्न सक्ने विषयले पनि चुनावी बहसलाई प्रभावित पारेको छ ।
सिनेटका केही प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रलाई यसपटक विशेष चासोका साथ हेरिएको छ । टेक्ससमा रिपब्लिकन केन पाक्सटन र डेमोक्रेट जेम्स टालारिकोबीच प्रतिस्पर्धा छ । अक्टोबरमा सार्वजनिक भएका दुई सर्वेक्षणमा दुवैले ४९–४९ प्रतिशत समर्थन पाएका थिए । अर्को सर्वेक्षणमा भने टालारिको ३.८ प्रतिशत अंकले अगाडि देखिएका थिए ।
ओहायोमा रिपब्लिकन जोन हस्टेड र डेमोक्रेट शेरोड ब्राउनबीच प्रतिस्पर्धा हुँदै छ । विभिन्न सर्वेक्षणमा ब्राउन चारदेखि ६ प्रतिशत अंकले अगाडि देखिएका छन् । सिनेटमा आफ्नो बहुमत जोगाउन रिपब्लिकनका लागि यो सिट महत्वपूर्ण मानिएको छ ।
नर्थ क्यारोलाइनामा डेमोक्रेट रोय कूपरले सर्वेक्षणमा ५२ प्रतिशत समर्थन पाएका छन् भने रिपब्लिकन माइकल वाट्लेले ३९ प्रतिशत समर्थन पाएका छन् । यसअनुसार कूपर १३ प्रतिशत अंकले अगाडि छन् ।
मिचिगनमा डेमोक्रेट अब्दुल अल–सईदले रिपब्लिकन माइक रोजर्सविरुद्ध सामान्य अग्रता बनाएका छन् । सर्वेक्षणमा अल–सईदले ५० प्रतिशत र रोजर्सले ४८ प्रतिशत समर्थन पाएका छन् ।
मेन राज्यमा डेमोक्रेट ट्रोय ज्याक्सनले ४९ प्रतिशत समर्थन पाउँदा रिपब्लिकन सिनेटर सुसान कोलिन्सले ४७ प्रतिशत समर्थन पाएकी छन् ।
मध्यावधि निर्वाचनको परिणामले अमेरिकी संसद्को शक्ति सन्तुलन निर्धारण गर्नेछ । दुवै सदनमा बहुमत कायम राख्न सके ट्रम्प प्रशासनलाई आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन सहज हुनेछ । तर, कुनै एक सदनमा मात्रै रिपब्लिकनले बहुमत गुमाए पनि सरकारका महत्वपूर्ण विधेयक पारित गराउन डेमोक्रेटहरूको समर्थन आवश्यक पर्न सक्छ ।
