विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सिंहदरबारमा केन्द्रित अधिकार प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन्। उनले नागरिकको शासन प्रणालीमा पहुँच बढाउनु, स्थानीय आवश्यकताअनुसार नीति निर्माण गर्नु र सरकारलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयताको मर्म भएको बताएका हुन्।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले संविधानले परिकल्पना गरेको संघीयताको मर्म र यसको व्यावहारिक कार्यान्वयनबीच अझै दूरी रहेको बताए।
उनका अनुसार अधिकार क्षेत्रको अस्पष्टता, जिम्मेवारीमा दोहोरोपन र संघीय सरकारसँगको समन्वय अभावले प्रदेशहरूको संस्थागत क्षमता विकासमा चुनौती सिर्जना गरेको छ।
‘संविधानले परिकल्पना गरेको संघीयताको मर्म र व्यवहारमा देखिएको कार्यान्वयनबीच अझै दूरी छ,’ उनले भने, ‘अधिकार क्षेत्रमा अस्पष्टता र जिम्मेवारीमा दोहोरोपन देखिएको छ। संघ सरकारसँगको समन्वयको अभावमा प्रदेशहरूको क्षमता पर्याप्त विकास हुन सकेको छैन।’
मुख्यमन्त्री थापामगरले संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्याको समाधान एकअर्कालाई दोष दिएर सम्भव नहुने स्पष्ट पारे। उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सन्देश दिएका छन्।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको प्रभावकारी कार्यान्वयन, तहगत सरकारबीचको समन्वय तथा प्रदेशहरूको अधिकार र जिम्मेवारीलाई थप स्पष्ट बनाउने विषयमा छलफल भइरहेको छ।
