विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै मोरङ कांग्रेसमा जिल्ला सभापति को बन्ने भन्ने चर्चा चुलिएको छ। केन्द्रीय महाधिवेशन काठमाडौंमा चलिरहँदा मोरङमा भने जिल्ला सभापतिका सम्भावित उम्मेदवारबारे चिया चौतारादेखि पार्टीभित्रका छलफलसम्म चर्चा हुन थालेको हो।
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेका नेताहरूले जिल्ला सभापतिमा उम्मेदवारी दिन पाउने भएकाले यसपटकको जिल्ला अधिवेशन थप रोचक बन्ने देखिएको छ। केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन हुने भएकाले पनि आकांक्षीहरूले आफ्नो तयारी अघि बढाउन थालेका छन्।
हालसम्म जिल्ला सभापतिका लागि चर्चामा आएका नाममा मोरङ क्षेत्र नं. ३ का ललितबहादुर श्रेष्ठ र सूर्यमाराज राई, क्षेत्र नं. ४ का भक्तिनाथ माझी र दिलीपकुमार गच्छदार तथा क्षेत्र नं. २ का मोदराज घिमिरे, यदुकुमार विष्ट र सुमन कुँवर छन्।
श्रेष्ठ र घिमिरे नेपाली कांग्रेस मोरङको वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् भने माझी उपसभापति हुन्। त्यस्तै विष्ट र गच्छदार यसअघि वर्तमान सभापति डिगबहादुर लिम्बुसँग जिल्ला सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार हुन्।
मोरङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि बनेका कुँवरले पनि यसपटक जिल्ला सभापतिका लागि तयारी गरिरहेको उनीनिकट एक नेताले बताएका छन्।
यसैबीच, वर्तमान जिल्ला कार्यसमितिका उपसभापति तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले लामो समयदेखि जिल्ला सभापतिको तयारी गरिरहेको चर्चा हुँदै आए पनि १५औँ महाधिवेशनमा उनी सहभागी भएनन्। उनी महाधिवेशन प्रक्रियामै सहभागी नभएपछि जिल्ला सभापतिमा उनको उम्मेदवारीबारे तत्काल कुनै चर्चा नरहेको एक कांग्रेस नेताले बताए।
वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बु भने अब जिल्ला नेतृत्व छाडेर प्रदेश तहमा जाने तयारीमा रहेको कांग्रेस नेताहरू बताउँछन्।
मोरङ कांग्रेसमा जिल्ला सभापतिका लागि अहिलेसम्म चर्चामा आएका नाममध्ये कति जना अन्तिम समयसम्म मैदानमा रहनेछन् र नयाँ आकांक्षीहरू थपिनेछन् कि छैनन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।
दसैँ–तिहारपछि जिल्ला अधिवेशन गर्ने तयारी रहेकाले त्यसअघि नै मोरङ कांग्रेसमा नेतृत्वका लागि आन्तरिक समीकरण र उम्मेदवारको दौडधुप अझ तीव्र हुने देखिएको छ।
