काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बैंकिङ समूहबाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०८ प्रतिशत बढ्दा सर्वाधिक घट्नेमा व्यापार समूह १.३८ प्रतिशत घटेको छ ।
त्यस्तै, विकास बैंक समूह ०.०९ प्रतिशत, फाइनान्स समूह ०.०९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.०३ प्रतिशत, लगानी समूह ०.५५ प्रतिशत, जीवन बीमा समूह ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह ०.६० प्रतिशत र अन्य समूह ०.३६ प्रशितले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा जानकार निमानन्द कंडेल भन्छन्, ‘अझैपनि लगानीकर्ताहरुको कन्फिडेन्ट बढ्न सकिरहेको छैन । यो समयमा सेयरबजारलाई चाडपर्वसँगै क्लोजिङको पनि प्रेसर परेको छ । सरकारले पूँजीबजार सुधारको लागि विभिन्न खालका राम्रा नीति ल्याएपनि त्यसको कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने अन्योलतामा लगानीकर्ता छन् । सरकारले एकापट्टी राम्रो नीति ल्याएपनि अर्कातिर ठूला व्यवसायीलाई गरेको धरपकडले लगानीकर्ताको मनोबल अझै उच्च हुन सकेको छैन, जसकारण सेयरबजारमा अझै सुधारको संकेत देखिएको छैन ।’

