काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो विधान संशोधन गरी शीर्ष नेतृत्व तहमा महिलाको अनिवार्य सहभागितासहित पदाधिकारिको संख्या २१ सदस्यीय बनाउने भएको छ।
पार्टीभित्रका आकांक्षीहरूको व्यवस्थापन र समावेशी सहभागितालाई मजबुत बनाउने उद्देश्यले विधान परिमार्जन गर्न लागिएको हो।
प्रस्तावित नयाँ संरचनाअनुसार अब उपसभापतिको संख्या चार पुग्नेछ, जसमध्ये एक जना महिला हुनुपर्नेछ भने एक जनालाई ‘वरिष्ठ उपसभापति’ बनाउने पद सिर्जना गरिएको छ।
त्यस्तै महामन्त्रीको संख्या तीन पुर्याइनेछ, जसमा एक महिला महामन्त्री रहने व्यवस्था गरिएको छ। उपसभापति र महामन्त्रीका सबै पदहरू निर्वाचन प्रक्रियाबाटै चयन हुनुपर्नेछ।
सहमहामन्त्री पदमा पनि संख्या विस्तार गर्दै १३ पुर्याइएको छ। यसअघि ११ जना सहमहामन्त्री रहेकोमा अब समावेशिताका आधारमा ८ जना, खुलातर्फबाट २ जना र सभापतिले मनोनीत गर्ने ३ जना गरी कुल १३ सहमहामन्त्री रहनेछन्।
अघिल्लो महाधिवेशनमा समावेशी आधारमा ८ जना सहमहामन्त्री चयन गर्ने थिति रहेकोमा नयाँ संशोधनमार्फत कांग्रेसले पदाधिकारी संख्या २१ पुर्याउँदै नेतृत्वमा महिला र समावेशी प्रतिनिधित्वलाई थप फराकिलो बनाउन लागेको हो।
