काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र आत्मदाह प्रयास गरेका चालकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार मध्याह्न बसमा आगलागी भएपछि गम्भीर घाइते भएका चालकको सोही दिन बेलुका उपचारका क्रममा मृत्यु भएको हो।
कीर्तिपुर बर्न अस्पतालकी निर्देशक निजिना ताम्राकारका अनुसार चालकको सोमबार बेलुका करिब ७ बजे मृत्यु भएको हो। आगलागीबाट उनको शरीरको ९७ प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालले जनाएको छ।
मृत्यु भएका चालकको भने अहिलेसम्म सनाखत हुन सकेको छैन। काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार चालकको नाम र ठेगाना यकिन हुन सकेको छैन। उनका आफन्तसमेत अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
यसअघि चालकको साथमा ‘दावा लामा’ नामका कागजात फेला परेपछि प्रहरीले उनी २५ वर्षीय दावा लामा हुन सक्ने जनाएको थियो। तर मृतकको पहिचान दावा लामा नै भएको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।
एसपी थापाका अनुसार आफूलाई मृतकको नजिकको दाइ भन्दै एक जना व्यक्ति सम्पर्कमा आएका थिए। तर त्यसपछि उनी पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
सोमबार त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिबानाको विषयलाई लिएर विवाद भएको थियो। रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७६ नम्बरको बसका चालक र ट्राफिक प्रहरीबीच भएको विवादको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
विवादपछि चालकले बस त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवननजिकै रहेको बस स्टपमा रोकेका थिए। त्यसको केही समयपछि सोमबार मध्याह्न करिब सवा १२ बजे बसमा आगलागी भएको थियो।
आगलागीमा चालक गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भए पनि प्रहरीले अहिलेसम्म मृतकको पहिचान खुलाउन सकेको छैन।
