Premier Cables

कोशी प्रदेश

मोरङ ३ मा १७ वर्षीय प्रज्वल बने कांग्रेस क्षेत्रीय प्रतिनिधि !

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | अपराह्न १२:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ-३ अन्तर्गत बेलबारी नगरपालिका-८ का १७ वर्षीय प्रज्वल ढकाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको वडा अधिवेशनबाट ढकाल ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी विधानमा गरिएको व्यवस्थाअनुसार क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। कम उमेरमै पार्टीको क्षेत्रीय प्रतिनिधि बन्न सफल ढकाललाई नेपालकै कान्छो क्षेत्रीय प्रतिनिधिका रूपमा दाबी गरिएको छ।

विज्ञापन

१७ वर्षकै उमेरमा पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण जिम्मेवारी पाएका ढकालको निर्विरोध चयनले कांग्रेसमा नयाँ पुस्ताको सहभागितालाई समेत चर्चामा ल्याएको छ। पछिल्लो समय युवापुस्तालाई राजनीतिमा आकर्षित गर्न कांग्रेसले विधानमै ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेपछि आफूजस्ता युवालाई पार्टीको मूलधारमा आउने अवसर सिर्जना भएको ढकाल बताउँछन्।

उनका अनुसार कांग्रेसको पछिल्लो व्यवस्थाले ‘जेन्जी’ पुस्तालाई पार्टीसँग जोडिने वातावरण निर्माण गरेको छ। युवालाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउँदै लैजाने हो भने आगामी दिनमा कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण अझ बढ्ने उनको विश्वास छ।

‘कांग्रेसले विधानमै युवाको प्रतिनिधित्व सुनिश्चित गरेर नयाँ पुस्तालाई राजनीतिमा आउने अवसर दिएको छ,’ ढकालले भने, ‘अहिलेको यो व्यवस्थाले जेन्जी पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ। युवाको सहभागिता र प्रतिनिधित्वलाई अझ बलियो बनाउँदै लैजाने हो भने सम्पूर्ण जेन्जी पुस्ताको मन कांग्रेसले जित्न सक्छ भन्नेमा म विश्वस्त छु।’

ढकालको निर्विरोध चयनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रवेश र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ। १७ वर्षकै उमेरमा क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएका ढकालले अब पार्टी संगठनमा युवा सहभागिता र नयाँ पुस्ताका मुद्दालाई कसरी अघि बढाउँछन् भन्ने चासोसमेत बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka