विराटनगर । विराटनगर महानगरपालिका वार्ड नम्बर १६ रानीस्थित जुट मिल ग्राउन्डमा प्रथम लाली गुराँस कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।
लाली गुराँस स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न ८ वटा टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा डिग्री फुटबल क्लबले लाली गुराँस स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
डिग्री फुटबल क्लबका लागि सनम अधिकारीले दुई गोल तथा रोशन राईले एक गोल गरेका थिए। यस्तै, लाली गुराँस स्पोर्टिङ क्लबका तर्फबाट आदेश मगरले एक गोल गरेका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिग्री फुटबल क्लबका सनम अधिकारीलाई म्यान अफ द म्याच घोषित गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोस प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम लामा, मोरङ जिल्ला फुटबल महासंघका सहसचिव दिनेश बस्नेत, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश शाह र वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता लाली गुराँस स्पोर्टिङ क्लबका अध्यक्ष सुमित डंगोलले गरेका थिए।
कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज कोइरालाले गरेका थिए।
प्रतियोगिता असोज ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल असोज १० गते हुने बताइएको छ।
