काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अमेरिकी सरकारले थप १० लाख अमेरिकी डलर वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको ‘इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स’ ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन उक्त रकम स्वीकृत गरेको हो।
नयाँ सहायता थपिएसँगै भोटेकोसी बाढीपछि अमेरिकाले नेपाललाई उपलब्ध गराएको कुल मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहयोग ५० लाख डलरभन्दा बढी पुगेको छ। अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको उल्लेख छ।
विज्ञप्ति अनुसार सहायता रकमलाई विभिन्न अन्तर्राष्ट्रिय संस्था र निकायमार्फत परिचालन गरिएको छ। जसअन्तर्गत विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहयोग उपलब्ध गराइएको छ, जसबाट १० हजार प्रभावित परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन प्रदान गरिनेछ।
दुर्गम समुदायसम्म राहत पुर्याउन हवाई तथा स्थल यातायातको प्रयोग गरी आपूर्ति शृंखला सहज बनाउने काम भइरहेको छ।
त्यस्तै, कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलर भोजन, आश्रय, कम्बल, पाल, सौर्य बत्ती, खानेपानी र डिग्निटी किट वितरणका साथै बालमैत्री स्थान सञ्चालनमा खर्च भइरहेको छ। स्वास्थ्य, पोषण र सरसफाइका लागि झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत ३ लाख ६५ हजार डलर बराबरको कार्यक्रम सञ्चालन गरिएको छ।
घटनास्थलमा विपद्पीडितको पहिचानका लागि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फोरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरीलाई प्रत्यक्ष सहयोग गरिरहेका छन्।
साथै, अमेरिकी सेनाले नेपाली टोलीको नेतृत्वमा भइरहेको खोज तथा उद्धारका लागि ५ हजार विशेष विपद् पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–इन्ड लोडर हस्तान्तरण गरेको छ।
हाल चार सदस्यीय अमेरिकी सैन्य सिभिल अफेयर्स टोलीसमेत घटनास्थलमै खटिएको छ। परिस्थितिअनुसार नेपाल सरकारसँग निरन्तर समन्वय गरी थप सहायता प्रदान गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको विज्ञप्तिमा जनाइएको छ।
