विराटनगर । नेपाली साहित्यका युगप्रवर्तक एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा निधन भएको थियो। छोटो जीवनकालमै उनले नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएका थिए।
आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएर उनको योगदान उजागर गरेका मोतीरामले नेपालमा पहिलोपटक छापाखाना भित्र्याएका थिए। यसै कदमलाई नेपालमा व्यवस्थित पत्रकारिताको सुरुआत मानिन्छ।
जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाली शिक्षा परिषद् लगायतका विभिन्न साहित्यिक संघ–संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गर्दैछन्। परिषद्की अध्यक्ष रमा शर्माका अनुसार आज दिउँसो २ बजे कवि सम्मेलनको आयोजना गरिनुका साथै ‘युवा वर्ष मोती पुरस्कार’समेत वितरण गरिने कार्यक्रम रहेको छ।
