विराटनगर । प्रहरीको नियन्त्रणमा रहेको लागूऔषध गाँजा बोकेको भ्यानबाट अस्पतालको स्टिकर उक्काउने एक युवक पक्राउ परेका छन्। उनी महेन्द्र मोरङ क्याम्पसकाे स्ववियू सभापति हुन् ।
इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरभित्र राखिएको बा.१.च ६६२० नम्बरको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको मारुती भ्यानमा टाँसिएको स्टिकर अनाधिकृत रूपमा उक्काउँदै गर्दा मोरङको विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने २८ वर्षीय रोहित यादवलाई प्रहरीले पक्राउ गरेको हो।
उक्त मारुती भ्यान ५०.२९० केजी लागूऔषध गाँजासहित अनुसन्धानका लागि प्रहरी कार्यालयको परिसरभित्र सुरक्षित राखिएको थियो। सोही गाडीबाट अस्पतालको नाम उल्लेखित स्टिकर बाहिरबाट अनधिकृत रूपमा प्रवेश गरी हटाउन खोजेपछि यादवलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका यादवलाई मिति २०८३ साल भदौ २२ गते अदालतबाट ७ (सात) दिनको म्याद थप गरी हाल हिरासतमा राखिएको छ। घटना शंकास्पद रहेकोले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
