काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि तल्लो तटीय क्षेत्रमा लगातार शवहरू फेला पर्न थालेपछि अस्पतालहरूमा शवगृह (मोर्ग) को गम्भीर संकट उत्पन्न भएको छ।
उद्धार टोलीले चितवन, नुवाकोट र नवलपरासी लगायतका जिल्लाहरूबाट सयौँको संख्यामा शव सङ्कलन गरिरहेका बेला स्थानीय अस्पतालहरूमा शव राख्ने क्षमता सकिएपछि स्थिति जटिल बनेको हो।
विशेष गरी चितवनका अस्पतालहरूमा कूल ५० वटासम्म मात्र शव राख्ने क्षमता भए पनि त्यहाँ सङ्कलन भएका शवको संख्या उपलब्ध क्षमताभन्दा निकै बढी छ। क्षमताभन्दा धेरै शव संकलन भएपछि तिनको सुरक्षा, चिस्यान र पहिचान कार्यमा ठूलो चुनौती खडा भएको छ।
फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. हरिहर वस्तीका अनुसार नेपालका सामान्य क्षेत्रीय अस्पतालका शवगृहहरू यति ठूलो परिमाणको मास कजल्टी (सामूहिक विनाश) सम्हाल्न सक्षम छैनन्। विज्ञहरूले स्थिति नियन्त्रण बाहिर जानुअघि नै सरकारलाई तत्काल वैकल्पिक र वैज्ञानिक उपाय अपनाउन आग्रह गरेका छन्।
विशेषज्ञका मुख्य सुझावहरू:
वैज्ञानिक अस्थायी व्यवस्थापन: शवहरू धेरै बिग्रन नदिन पानीको मुहानभन्दा टाढा र अग्लो सुरक्षित जमिनमा वैज्ञानिक तरिकाले अस्थायी रूपमा गाड्नुपर्छ। खुला हावाको तुलनामा जमिनमुनि शव सड्ने क्रम ढिलो हुने भएकाले आफन्तलाई पहिचानका लागि अतिरिक्त समय मिल्छ।
रेफ्रिजरेटेड कन्टेनरको प्रयोग: व्यापारिक सिपिङ कन्टेनरहरूलाई चिस्यान प्रणाली जडान गरी अस्थायी शवगृहमा रूपान्तरण गर्न सकिन्छ। एउटा ठूलो कन्टेनरमा करिब ५० वटासम्म शव सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ।
एकीकृत पहिचान प्रणाली: शवहरूको पहिचानका लागि ‘विपद् पीडित पहिचान’ (डिभिआई) प्रणाली अनिवार्य लागू गर्नुपर्छ। डिएनए वा औँठाछाप परीक्षणअघि नै प्रत्येक शवको नम्बर ट्यागिङ गर्ने, तस्बिर खिच्ने र शरीरमा रहेका चिन्ह वा कपडाको विवरण सुरक्षित राखिनुपर्छ।
मृतकहरूको सम्मानजनक व्यवस्थापन गर्न र आफन्तलाई शव बुझाउने प्रक्रियालाई सहज बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच तत्काल एकीकृत समन्वय र केन्द्रीय भण्डारण हब निर्माण हुनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्।
