Premier Cables
Premier Steel

अपराध

इसेवासहितका वालेट दुरुपयोग गरी रु २ अर्बको हुण्डी कारोबार: एकै परिवारका ३ जनामाथि मुद्दा दायर

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । इसेवासहितका डिजिटल वालेट र विभिन्न बैंक खाताको दुरुपयोग गरी करिब २ अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको अभियोगमा एकै परिवारका तीन जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले धादिङको सत्यदेवी घर भई हाल काठमाडौँको नागार्जुन बस्ने राजेन्द्रप्रसाद रिजाल, उनका भाइ सुमन रिजाल र भाइबुहारी पविता उपाध्याय विरुद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायरा गरेको हो।

बिज्ञापन

अभियोग दर्ता गरिएकामध्ये सुमन र पविता हाल रुसमा रहेका छन्।

अदालतमा दायर अभियोगपत्र अनुसार रुसमा रहेका सुमन र पविताले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूबाट वैदेशिक मुद्रा संकलन गर्ने गरेका थिए।

सोही रकम बराबरको नेपाली रुपैयाँ नेपालमा रहेका राजेन्द्रप्रसाद र पविताको नाममा रहेका बैंक खाता तथा इसेवा, फोनपे लगायतका डिजिटल वालेट प्रयोग गरी गैरकानुनी रूपमा भुक्तानी दिने गरिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार वैधानिक बैंकिङ प्रणालीलाई छलेर ‘मिरर ट्रान्जेक्सन’ विधिमार्फत रुसको रकम रुसमै र नेपालको रकम नेपालमै फर्छ्योट गर्ने गरिएको थियो। पविता रुसमै रहे पनि नेपालमा रहेको उनको बैंक खाता जेठाजू राजेन्द्रले चलाउँदै आएका थिए। भाइ सुमनको निर्देशनमा नेपालमा रकम व्यवस्थापन गरेबापत राजेन्द्रले मासिक २५ हजार रुपैयाँ तलब लिने गरेको बयान दिएका छन्।

कारोबारलाई गोप्य राख्न गिरोहले सञ्चारका लागि मेसेजिङ एप ‘ह्वाट्सएप’ को प्रयोग गर्ने गरेको पाइएको छ। रकम लेनदेनका क्रममा व्यक्ति पहिचान गर्न उनीहरूले नेपाली वा भारतीय रुपैयाँको नोटको फोटो र त्यसको नम्बरलाई ‘सेक्युरिटी कोड’ का रूपमा प्रयोग गर्ने गरेका थिए। ह्वाट्सएपमा प्राप्त नोटको फोटो र नम्बर मिलेपछि मात्र रकम भुक्तानी हुने गरेको सीआईबीको छानबिनमा देखिएको छ।

सरकारी वकिल कार्यालयले उनीहरूबाट कुल १ अर्ब ९८ करोड ९७ लाख ४० हजार ३ सय २८ रुपैयाँ बिगो जफत गर्न माग गरेको छ। साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम आरोपीहरूलाई बिगोको तीन गुणासम्म जरिवाना, ७ वर्षसम्म कैद वा दुवै सजाय हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka